जन आकाश
काठमाडौं । (युक्रेन) युद्ध भएको चार वर्ष पुग्न लाग्दा दुवै देशले ठूलो संख्यामा सैन्य शक्ति गुमाएका छन्। सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरू भएयता दुवै मुलुकले १८ लाख सैन्य क्षति ब्यहोरेको भनेर वासिङ्टनस्थित थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस) को नयाँ अध्ययनले देखाएको छ।
यो आँकडामा दुवै देशको मृत्यु भएको, घाइते र बेपत्ता भएका सैनिकहरूको संख्या जोडिएको छ। यसमा रूसको मात्रै १२ लाख सेना मृत्यु, घाइते वा बेपत्ता भएको भनेर सिएसआइएसको तथ्यांकले देखाएको छ। युक्रेनले ६ हजार हाराहारीमा क्षति ब्यहोरेको छ।
दुई देशबीचको तनाव यही ढंगले अघि बढिरहे आगामी बसन्त यामसम्म क्षतिको आँकडा २० लाख पुग्ने आकलन छ।
सीएसआईएसले रूसी सेनातर्फ २ लाख ७५ हजारदेखि ३ लाख २५ हजार सैनिकको मृत्यु भएको अनुमान गरेको छ। युक्रेनतर्फ १ लाखदेखि १ लाख ४० हजार सैनिक मारिएको बताइएको छ।
यो आँकडा दोस्रो विश्वयुद्धयताकै ठूलो सैन्य क्षति रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्धमा यति ठूलो क्षति हुँदाहुँदै पनि रूसले सीमित मात्र भू–भाग कब्जा गर्न सकेको प्रतिवेदनमा उल्लेख छ।
सीएसआईएसका अनुसार सन् २०२२ यता रूसले युक्रेनको भूमि जम्मा १२ प्रतिशत मात्र थप नियन्त्रणमा लिएको छ। पछिल्ला दुई वर्षमा त यो वृद्धि १.५ प्रतिशतभन्दा कम रहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend