logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने ट्रम्पको धम्की


  • जन आकाश
  • शुक्रबार, माघ १६ २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने धम्की दिएका छन्। बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले क्युबालाई तेल दिने देशहरूमाथि भन्सार बढाउने चेतावनी दिएका हुन्।



उनले कुन देशलाई कति प्रतिशत भन्सार बढाउने भन्न चाहिँ नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।क्युबालाई मुख्यगरी भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो। रूस र मेक्सिको पनि क्युबाको तेल आपूर्तिकर्ता हो।

पछिल्लो महिना अमेरिकाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर न्युयोर्क ल्याएको थियो।
त्यसअघि नै भेनेजुएलाको अर्थतन्त्र खराब हुँदै गएपछि उसले क्युबालाई पर्याप्त मात्रामा तेल निर्यात गर्न सकेको थिएन।

मदुरोको सरकार ढालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबाको सरकार पनि असफल हुने दाबी गरेका थिए। उनले भेनेजुएलाबाट क्युबाले पाउने तेल तथा आर्थिक सहायता पनि बन्द गरिएको बताएका थिए।

वामपन्थी विचारधाराका मदुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाको निशानामा अब क्युबा पर्न सक्ने विश्लेषण छ। क्युबाका आप्रवासीका सन्तान रहेका अमेरिकी विदेशमन्त्री मार्को रूबिओ लामो समयदेखि त्यहाँको कम्युनिस्ट शासक विरूद्ध आक्रामक छन्।

अमेरिकी नाकाबन्दीका कारण आर्थिक संकटमा रहेको क्युबालाई लामो समयदेखि भेनजुएलाले सित्तैमा तेल दिएर भरथेग गरेको थियो।पछिल्लो दशकमा भेनजुएला आफै संकटमा रहेको र तेल उत्पादन पनि घटेकाले सहयोग पनि घटेको थियो।

त्यस कारण पछिल्लो समय क्युबाको अर्थतन्त्र झन् संकटमा छ। क्युबाका लागि भेनेजुएलाको सहयोग अहिले पनि महत्वपूर्ण छ। मदुरो सत्ताच्युत भएपछि यो सहयोग ठप्प भएकाले क्युबाको अर्थतन्त्र झनै संकटमा परेर कम्युनिस्ट शासन आफै ढल्न सक्ने भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। आफै नढले पनि भेनेजुएलामा सफल भए पछि हौसिएर अमेरिकाले क्युबामा आक्रमण नै गरेर भए पनि सत्ता पल्टाउने खतरा रहनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend