जन आकाश
विनोद नेपाली, दैलेख
काठमाडौं । वैशाख १३ गते। दैलेखको दुल्लु नगरपालिका–१० स्थित नाभिस्थानमा आजदेखि “पञ्चकोशी धार्मिक पर्यटन मेला” भव्य रूपमा सुरु भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्थाको आयोजनामा सञ्चालन भएको यो मेला वैशाख १९ गतेसम्म चल्नेछ।“धर्म, संस्कृति र पर्यटनको संगम, पञ्चकोशी मेला हाम्रो पहिचान” भन्ने नारासहित सुरु गरिएको आयोजक समितिका अध्यक्ष नवीन योगीले जानकारी दिएका छन्। मेलाले पञ्चकोशी क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ।
सनातन हिन्दु धर्मसँग गहिरो रूपमा जोडिएको पञ्चकोशी क्षेत्रलाई सतीदेवीका अंग पतन भएका पवित्र स्थलहरूमध्ये एक मानिन्छ। नाभिस्थानमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ, जहाँ आजसम्म पनि अखण्ड ज्वाला बलिरहेको छ। यहाँ स्नान, पूजा तथा पिण्डदान गर्दा मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।
मेलाको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गरेका थिए। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीयबासी तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। उद्घाटन अवसरमा पञ्चेबाजा, कलश यात्रा र झाँकी प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
मेलामा स्कन्द पुराण वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन, दैनिक आरती, पञ्चकोशी क्षेत्रको धार्मिक यात्रा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। मुख्य आकर्षणका रूपमा १८ वर्षीया कथा वाचिका कृति केशरी देवीद्वारा पुराण वाचन गरिनेछ।
आयोजकका अनुसार यस मेलामार्फत पञ्चकोशी क्षेत्रलाई अयोध्या, लुम्बिनी, बागेश्वरी मन्दिर हुँदै कैलाश मानसरोवरसम्म जोड्ने धार्मिक पर्यटन सर्किट विकास गर्ने लक्ष्य राखिएको छ। यसले नेपाल–भारत–तिब्बत क्षेत्रलाई जोड्ने धार्मिक मार्गका रूपमा विकास हुने सम्भावना देखिएको छ।
धार्मिक महत्वका बाबजुद पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको पञ्चकोशी क्षेत्रलाई मेलाले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ। साथै नाभिस्थान क्षेत्रमा रहेको निरन्तर ज्वाला र सम्भावित पेट्रोलियम स्रोतको अनुसन्धानले यस क्षेत्रको थप सम्भावना उजागर गरेको छ।
वैशाख १९ गतेसम्म सञ्चालन हुने यस मेलाले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend