जन आकाश
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्र प्रहरीको आईजीपीमा बढुवा गर्ने निर्णय भएको बताए । उनले यही १८ वैशाखपछि कमान्ड सम्हाल्ने छन् । हाल उनी सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुखको रूपमा कार्यरत छन् ।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो ।
पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए । उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरू दुवै जना पौडेलभन्दा जुनियर थिए । पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा उनलाई बढुवा गरिएको थियो ।
आईजीपीको दोस्रो दाबेदारका रूपमा रहेका दाहाल भने पौडेलभन्दा करिब ५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए । दाहाललाई सरकारले २८ असोज २०७९ मा एआईजीमा बढुवा गरेको थियो । दाहाललाई एआईजी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो ।
ठाडा मगर भने उनीहरूभन्दा करिब २ वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् । उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । पौडेल १८ चैत २०८४ सम्म दुई वर्ष संगठन प्रमुख बन्नेछन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ मा अवकाशमा जानेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend