जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको अठहत्तरौँ प्रविधिमैत्री अनलाइन कार्यक्रम यही मिति २०८३ बैशाख १९ गते शनिबार सम्पन्न भएको छ ।
सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका केन्द्रीय अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ ले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपानेले गर्नुभएको थियो भने विशेष उपस्थितिमा कविवर कलानिधि दाहाल, रामशरण न्यौपाने, महेश्वर खनाल, विश्वनाथ ढुङ्गेल, वासुदेव ठकुरी, जानुका थापा रायमाझी, घनश्याम पौडेल, प्रमोद नेपाल, उर्मिला पन्तलगायत १५ जना साहित्यकारहरू हुनुहुन्थ्यो ।
प्रस्तुत भएका सुसेलीहरूमा कलानिधि दाहालले समालोचनात्मक टिप्पणीका साथमा केही सुसेली प्रस्तुत गर्दै सुसेली पनि कविता भएकाले भाव, बिम्ब र प्रतीकको प्रयोग गर्न सबैलाई सुझाव दिनुभयो ।
कवि रामशरण न्यौपानेका उत्कृष्ट सुसेलीबाट आरम्भ भएको कार्यक्रममा वाचनमा सहभागी कविहरूले विभिन्न शीर्षकमा समसामयिक, धार्मिक, राजनीतिक व्यङ्ग्य, प्रकृतिप्रेम, देशप्रेम, प्रेमिल, समाजमा विद्यमान विविध विकृति एवम् विसङ्गतिजस्ता विषयमा आधारित सुसेली प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालनका क्रममा भमरकोटेले खोलाघरे साहिँलो कृत ‘देउमाईका सुसेलीहरू’ पुस्तकको चर्चा गर्दै लेखकलाई बधाईसहित शुभकामना दिनुभयो भने अहिले एक हजारभन्दा बढी सुसेली भएको पुस्तक प्रकाशन गर्ने स्रष्टालाई ‘सुसेली सम्राट’ को उपाधि दिने गरिएको जानकारी पनि गराउनुभयो ।
आजको कार्यक्रमको सभापति संरक्षक चन्द्रा न्यौपानेले सबै कविहरूद्वारा गायन गरिएका सुसेलीहरूको समीक्षात्मक टिप्पणीसहित वार्षिक कार्यक्रमका विषयमा उठेका सवालहरूको समुचित स्पष्टीकरण दिंदै सुसेली गायनका साथ उपस्थित सबैको सुस्वास्थ्य एवम् दीर्घजीवनसहित सिर्जनशीलताको कामना गर्नुभयो ।
सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हिसाबले कार्यक्रमको प्रस्तुति रहेकामा खुशी लागेको बताउँदै आगामी दिनहरूमा पनि सधैं यस्तै साथ र सहयोगको अपेक्षाका साथ विश्वाससमेत छ भन्दै सभापति न्यौपानेले सधन्यवाद सभाको समापन गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend