जन आकाश
काठमाडौं। ट्राफिक प्रहरी छैनन्रदेखिएनन् भनेर सडकमा नियम उल्लंघन गर्नेलाई अब प्रविधिले निगरानी गरिरहेको हुनेछ। सवारीको नम्बरबाट पत्ता लाग्ने ठाउँ ठेगाना हुँदै कार्बाहीको पत्र सम्बद्ध व्यक्तिसम्म पुग्नेछ। यसका लागि प्रहरीले परीक्षण थालेको छ।
सडकमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति कम गरेर प्रविधिबाट नै निगरानीका लागि आइतबार काठमाडौंको थापाथली चोकमा परीक्षणात्मक प्रयोग गरिएको हो। पोलमा जोडिएका सीसीटीभी क्यामरा र कन्ट्रोल रुमबाट प्रहरीले निगरानी गरेर हेरेको छ।
‘हामीले ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउनुपर्छ भनेर सुरुवात गरेको हो। यसको रिजल्ट हेरेर थप कसरी जाने भन्ने योजना बनाउँछौँ,’ काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी नवराज सुवेदीले भने।
थापाथली प्रभागमा अहिले ५५ जना ट्राफिक प्रहरी खटिन्छन्। कार्यालय समयमा दैनिक प्रहरी निरीक्षकको कमान्डमा थप ७ जना प्रहरी अनुगमनका लागि खटिने गरेका छन्।
आइतबार भने ट्राफिक प्रहरी खटाइने ठाउँमा प्रविधि परीक्षण गरेर हेरिएको हो। सडकमा ट्राफिक नियम उल्लंघनका अवस्था प्रहरीको कन्ट्रोल रुमबाट निगरानी गरिएको थियो। केही सवारी चालकले सडक नियम उल्लंघन समेत गरेका थिए। त्यस्ता सवारीचालकको जानकारी प्रहरीले राखेको छ।
‘उहाँहरूको जानकारी निकालेर हामी कारबाही गर्छौं। अब प्रहरीको आँखा छल्यो भनेर हुँदैन भन्नेलाई हामी प्रविधिबाट निगरानी सुरु गर्छौं,’ एसपी सुवेदीले भने।
काठमाडौं उपत्यकाभित्र प्रहरीको जनशक्ति कम, प्रविधिको प्रयोग नहुनु, ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण जाम लगायतका घटना बढेको देखिन्छ। ट्राफिक प्रहरीले सम्बन्धित निकायसँगको सहकार्यमा सडकमा ट्राफिक लाइट, डिभाइडर लगायत राख्ने काम भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend