जन आकाश
काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान शैलीप्रति आपत्ति जनाएको छ।
काठमाडौँमा सोमबार बसेको संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संवैधानिक प्रक्रिया र पूर्वसूचनाबिनै मुख्यमन्त्री बानियाँको निजी निवास तथा विगतमा आबद्ध कार्यालयहरूमा छापामार शैलीमा अनुसन्धान गरेको आरोप लगाएको हो।
मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकार दामोदर खनालले कांग्रेस संसदीय दलले यस घटनालाई संवेदनशील विषयका रूपमा लिँदै संविधान र कानुनको दायराभित्र रही निष्पक्ष तथा न्यायोचित रूपमा छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिए।
मुख्यमन्त्री बानियाँ संसदीय दलको बैठकमा सहभागी हुन काठामाडौँ गएकै बेला उनको निजी निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो।
हेटौँडा उपमहानगरपालिका ५ सानोपोखरा स्थित बानियाँ निर्माण सेवा ९बीएनएस०, सोही कम्पनीसँगै रहेकोे निजी निवासमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको छ।काठमाडौँस्थित बानियाँको घरमा समेत विभागले छापा मारेको थियो।
नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए।तर पछिल्लो समय उनको कम्पनी अरूले नै चलाइरहेको दाबी उनले गरेका छन्।त्यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि आयोजना छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय पनि गरेको छ।
प्रदेश सरकारले आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यका माग, क्षेत्रगत सन्तुलन तथा भौगोलिक अवस्थालाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेस बागमती संसदीय दलको बैठकले प्रदेश सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन नीति तथा कार्यक्रम कार्यान्वयनमा थप समन्वय आवश्यक रहेको पनि औँल्याएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend