logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बिपत्त आउन नदिन उर्जामन्त्रीको जलवायु बिभागमा अनुगमन


  • जन आकाश
  • बुधबार, बैशाख २३ २०८३

काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुग्नुभएको छ ।



त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो । त्यस्तै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

उहाँले मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिनुभयो ।

उहाँले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्यांकलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताउनुभयो
मन्त्री श्रेष्ठले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्सहानका कार्यक्रम ल्याउने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend