logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सीसँग वार्तापछि ट्रम्पले भने-ताइवानलाई हतियार बेच्ने कि नबेच्ने निर्णय चाँडै हुन्छ ?


  • जन आकाश
  • शनिबार, जेष्ठ २ २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई हतियार बेच्ने कि नबेच्ने भन्ने निर्णय चाँडै हुने बताएका छन्।



बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्तापछि एयरफोर्स वानमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले ताइवानलाई प्रस्तावित १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताएका हुन्।

त्यसको निर्णय चाँडै नै हुन्छ, उनले भने। ताइवानलाई दिने भनेको १४ अर्ब डलर बराबरको हतियार प्याकेज ट्रम्पले महिनौंदेखि रोकेका थिए। सीसँगको भेटमा त्यसबारे विस्तृत छलफल भएको पनि ट्रम्पले बताएका छन्। चीन भ्रमण क्रममा सीले ताइवान मुद्दालाई लिएर द्वन्द्व हुन सक्ने चेतावनी दिएपछि ट्रम्पले नयाँ तनाव नचाहेको संकेत दिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

अहिले हामीलाई ९ हजार ५०० माइल टाढा अर्को युद्ध आवश्यक छैन,ु ट्रम्पले पत्रकारहरूसँग भने। ताइवानलाई थप सैन्य सहयोग दिनुपर्ने पक्षमा रहेका अमेरिकी संसदका केही नेताहरूले चीनलाई रोक्न बलियो सैन्य समर्थन आवश्यक रहेको तर्क गर्दै आएका छन्।

तर केही विश्लेषकहरूका अनुसार अमेरिकाले ताइवानलाई लगातार हतियार र राजनीतिक समर्थन दिए चीन सैन्य कदम चाल्न अझ प्रेरित हुन सक्छ।ट्रम्पले सन् १९८२ को ‘सिक्स एस्योरेन्स’ नीतिअनुसार अमेरिकाले ताइवानलाई हतियार बिक्रीबारे चीनसँग परामर्श नगर्ने प्रतिबद्धता जनाएको स्वीकार गरे पनि उक्त नीति अहिले पुरानो भइसकेको बताएका छन्।

१९८२ को सम्झौता छ भनेर कुरा नगर्ने भन्ने हुँदैन, हामीले हतियार बिक्रीबारे पनि कुरा गर्‍यौँ, ट्रम्पले भने, तर त्यसको अन्तिम निर्णय म आफै गर्छु। मेरो प्राथमिकता युद्ध टार्नेतर्फ हुन्छ। ट्रम्पको यस्तो अभिव्यक्तिले ताइपेईस्थित अमेरिका–समर्थक सरकारसँगै जापान र दक्षिण कोरियामा पनि चिन्ता बढाएको बताइएको छ।

विशेषगरी जापानी प्रधानमन्त्री सनए ताकाइचीको ताइवानबारे कडा नीति अमेरिकी धारसँग बाझिन थालेको उल्लेख गरिएको छ। ताकाइचीले ट्रम्पले एयर फोर्स वनबाट फोन गरी सीसँगको वार्ताबारे विस्तृत जानकारी दिएको बताएकी छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend