logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ऊर्जा मन्त्रालयमा ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीमा मन्त्री श्रेष्ठको जोड २०८३ जेठ ४


  • जन आकाश
  • सोमबार, जेष्ठ ४ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ। जसकारण मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएको मन्त्रीको सचिवालयले जनाएको छ।



श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ। २४ सै घण्टा संचालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित नभएको र समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रुपमा विकास गरिएको मन्त्रालयले जनाएको छ। सेवाग्राहीका फोन, ह्वाट्स एप, इमेलदेखि हेलो सरकारसम्म आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणालीलाई परिणाममुखी बनाइएको पनि जनाइएको छ।

श्रेष्ठको सचिवालयले यसलाई नियमित प्रशासनिक प्रक्रियाभन्दा उत्तरदायी एवम् जवाफदेही ढंगले अघि बढाएको जनाएको छ।

श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयम् जनसरोकारका विषय सम्बोधन गर्न सम्बिन्धत निकायसँगको समन्वयमा खटिँदै आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा प्राप्त गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउन मात्र नभइ समाधानको अवस्थामा पुर्‍याउने अभ्यास सचिवालयले थालेको भनिएको छ।

मन्त्रालयका अनुसार चैत १५ गते यता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन्। चैत १५ गते चैत ३० गतेसम्मको अवधिमा फोनमार्फत ४ हजार २४८, ह्वाट्स एपबाट १४, इमेलबाट २ तथा हेलो सरकारमार्फत ५ वटा गुनासो प्राप्त भएका थिए।

त्यसपछि बैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्स एपबाट ९२ र इमेलबाट १० वटा उजुरी दर्ता भएका छन्। यसबाहेक लिखित रूपमा आएका दुई सयभन्दा बढी निवेदन तथा संचार माध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित छन्। विशेषगरी विद्युतीय दुर्घटना, विद्युत् लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, विद्युत् प्रसारण तथा वितरण लाइन तत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थान्तरण गर्नुपर्ने, तारमा आगलागी हुने, मिटर नपाउने, पोल नपाउने, मिटर रिडिङमा समस्या, ईभी चार्जिङमा समस्या, सिँचाइमा समस्यालगायत विभिन्न सेवा प्रवाहमा हुने ढिलासुस्तीका विषय प्रमुख रूपमा उठेका थिए।

कतिपय घटनामा मन्त्रालयको प्रत्यक्ष सक्रियता देखिएको भनिएको छ। बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत दुईवटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनामा मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुननिर्माणमा प्राथमिकतामा दिँदै छानबिनसमेत अघि बढेको छ।

त्यसैगरी चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः संचालनमा ल्याइएको थियो। काठमाडौंको स्वयम्भु क्षेत्रमा वर्षौंदेखि सडकको बीच भागमा ठडिएका पोल स्थानान्तरणको विषय पनि मन्त्रालयमा पुगेको जन गुनासोमध्ये एक थियो। स्थानीय तह, विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच समन्वय गरी त्यसलाई समाधान भएको सचिवालयले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend