logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती


  • जन आकाश
  • बुधबार, जेष्ठ १३ २०८३

काठमाडौं । निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा नपाइने भएको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको हो।स्वास्थ्य बिमा बोर्डले निजी अस्पताललाई पत्र पठाएर स्वास्थ्य बीमा सेवा कटौती गरिएको जनाएको छ। जेठ ११ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।



बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले निजी क्षेत्रका सेवा प्रदायक स्वास्थ्य संस्थालाई पठाएको पत्रमा जेठ १६ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा सेवा स्थगत गरिएको जनाएको छ। बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा सेवा कटौती गरिएको उल्लेख छ।

‘अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवाहरू मिति २०८३ जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।

निजी अस्पतालमा आकस्मिक सेवाको स्वास्थ्य बीमा भने यथावत रहनेछ। अहिलेसम्म देशभर ३६ वटा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा सञ्चालन हुँदै आएको थियो। बोर्डले स्वास्थ्य बीमावाफतको रकम सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी गर्न सकेको छैन। अहिलेसम्म स्वास्थ्य बीमा सेवा प्रदायक सस्थालाई १६ अर्ब रुपैयाँ तिनी बाँकी रहेको बोर्डले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend