जन आकाश
काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवस समारोहमा टुँडिखेलमा आयोजना हुने समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल प्रेस युनियनको विधान सम्मेलनलाई सम्बोधन गर्दै आज प्रथम राष्ट्रपति यादवले प्रधानमन्त्रीले राष्ट्रका नाममा र संसदमा पनि अहिलेसम्म सम्बोधन नगरेकोले गणतन्त्र दिवसमा सम्बोधन गर्ने विश्वास गरेका छन् ।
‘संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी हो, प्रधानमन्त्री भएको दुई महिना भइसक्यो, प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने, म पूर्वराष्ट्रपति, अहिले नागरिक छु, म आशा गरिरहेको छु कि हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुन्छ,’ उनले भने।संघर्षका उपलब्धिबारे र मुलुकलाई कता लैजाने भन्नेबारे प्रधानमन्त्रीले सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘प्रधानमन्त्रीको दृष्टिकोण सुन्नका लागि सम्पूर्ण नेपाली जनता आतुर छन्, उहाँको मुखबाट सुन्नुपर्ने, उहाँले देश र संसदलाई अहिलेसम्म सम्बोधन गर्नुभएको छैन। आशा गरौं, हाम्रो गणतन्त्र संस्थागत हुँदै जान्छ। युवा संसद र सरकारमा आएका छन्, यो नेपाली जनताको १०० वर्षको योगदानको उपलब्धि हो, यसलाई संस्थागत गरेर कसरी अघि बढाउने उहाँहरूले राम्रोसँग सोच्नुहोस्,’ उनले भने।
प्रधानमन्त्री शाह भने गणतन्त्र दिवसमा सम्बोधन गर्ने पक्षमा छैनन्। उनले मन्त्रिपरिषदबाट निर्णय गरेर गणतन्त्र दिवसमा सम्बोधन गरिदिन हालै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्रसमेत पठाएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend