जन आकाश
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्को लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।
मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सम्मान गरेका हुन् ।
हिमाल आरोहणको क्षेत्रमा नयाँ(नयाँ कीर्तिमान कायम गर्दै आएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसद्को झण्डासहित उक्त आरोहण गत १३ जेठ बिहान ५ बजेर ४० मिनेट जाँदा गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद शेर्पाले संघीय संसद्मा सांसदको रूपमा आएपछि यसको गरिमालाई अझै उच्च बनाउने चाहना बमोजिम आफूले संसद्को लागो अंकित झण्डासहित उक्त आरोहणको यात्रा तय गरेको बताए ।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालका लागि विश्वलाई चिनाउने गौरव भएको बताए । सांसद शेर्पाले नेपालमा रोजगारीको अवसर सिर्जना गर्न पनि उक्त हिमालको ठूलै योगदान रहेको बताए ।
उनले भने, ‘संघीय संसदमा आइसकेपछि यसको गरिमालाई संसद्को झण्डालाई सगरमाथाको शिखरमा लगेर फहराउने एउटा इच्छा मनमा जाग्यो । र मैले सभामुखज्यूलाई रिक्वेस्ट गरेँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । र नेपालमा हरेक नेपालीले सगरमाथा हिमाल मात्रै नभएर यो हाम्रो अस्तित्वसँग, गौरवसँग जोडिएको विषय छ । नेपालमा सगरमाथा आरोहणको कुरा होस् अथवा क्लाइमेट चेन्जको कुरा होस् । अथवा कुनै दुर्घटनाको कुरा होस् । यो संसारभर समाचार बनेर आउने सिच्युएसन छ । भाग्यवश हामीजस्तो साधारण गाउँबाट आएको मानिसले पनि सगरमाथाले गर्दा यही देशमा बस्ने, थुप्रै रोजगारीको सिर्जना हुने अवसरको रूपमा मैले बुझेको छु ।’
सांसद शेर्पालाई सभामुख अर्यालले नै उक्त आरोहणका लागि विदाइ गरेका थिए ।३७ वर्षीय सांसद शेर्पा पर्वतारोहण क्षेत्रमा परिचित नाम हो । ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको पनि कीर्तिमान पनि बनाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend