जन आकाश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशनका क्रममा पार्टीको संगठन मजबुत बन्दै गएको देखिएको छ। देशभर नयाँ नेतृत्व चयनका लागि भएका अधिवेशनहरूबाट रास्वपाको संस्थापन अर्थात् पार्टी सभापति रवि लामिछाने पक्ष बलियो रूपमा उदाएको छ।
केही समयअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट समूह र तत्कालीन विवेकशील साझा पार्टीका नेता-कार्यकर्ताहरूको समायोजन भएसँगै रास्वपाभित्र आन्तरिक शक्ति सन्तुलनको बहस सुरु भएको थियो। तर, हालै सम्पन्न जिल्ला अधिवेशनका नतिजाहरूले बालेन र विवेकशील समूहलाई कमजोर देखाउँदै रवि पक्षको स्पष्ट वर्चस्व स्थापित गरेको छ।
गुटबन्दी रोक्ने प्रयास असफल, ‘नयाँ भर्सेज पुराना’ प्रतिष्पर्धा
रास्वपा केन्द्रले जिल्ला अधिवेशनहरूमा स्वस्थ चुनावी प्रतिस्पर्धाको छुट दिए पनि गुटगत प्यानल बनाएर चुनाव लड्न पूर्ण प्रतिबन्ध लगाएको थियो। जिल्ला-जिल्लामा ‘बालेन समूह’ र ‘रवि समूह’ भन्दै आन्तरिक ध्रुवीकरण र प्रचारबाजी हुन थालेपछि केन्द्रले त्यसलाई रोक्न विशेष निर्देशनसमेत जारी गरेको थियो।
केन्द्रको निर्देशनका बाबजुद केही जिल्लाहरूमा ‘नयाँ भर्सेज पुराना’ (पार्टी स्थापनाकालदेखिका र पछि समायोजन भई आएका) समूहबीच कडा प्रतिस्पर्धा भएको नेताहरूले स्वीकारेका छन्।
”रास्वपाले गुटगत प्यानललाई निरुत्साहित गर्न खोजे पनि भुइँतहमा चुनावी सरगर्मी र नेतृत्व हत्याउने होडबाजी स्पष्ट रूपमा देखियो,” रास्वपाका एक केन्द्रीय नेताले बताए।
’रवि लामिछानेमाथि नै कार्यकर्ताको भरोसा’
जिल्ला तहका नेता तथा कार्यकर्ताहरूमा अझै पनि पार्टी सभापति रवि लामिछानेप्रति नै ठूलो आशा र भरोसा रहेको अधिवेशनका क्रममा देखिएको छ। रास्वपाका कार्यकर्ताहरूमा बालेन शाह लोकप्रिय भए पनि पार्टीको मुख्य मियो रवि नै हुन् भन्ने आम मनोविज्ञान रहेको पाइन्छ।
”जिल्लाका आम नेता-कार्यकर्तामा रविप्रति भयंकर ठूलो आशा छ,” स्रोत भन्छ, “भविष्यमा बालेनले कतै बिगारे भने पनि रविले सपार्छन् र रविले बिगारे बालेन छन् भन्ने भावना त छ, तर पार्टीको निर्णायक नेतृत्वमा रविको विकल्प सोच्न सकिन्न भन्ने मत बलियो छ।”
सरकारमा रहँदा वा राजनीतिक उतारचढावका क्रममा केही कमीकमजोरी भए पनि त्यसलाई सच्याएर पार्टीलाई अघि बढाउन रवि लामिछाने नै सक्षम छन् भन्ने पूर्ण विश्वास तल्लो तहका कार्यकर्तामा देखिएका कारण नै यो अधिवेशनबाट रवि पक्ष बलियो बनेको राजनीतिक विश्लेषकहरूको ठहर छ।
यो अधिवेशनसँगै रास्वपाले देशैभर आफ्नो सांगठनिक संरचनालाई थप आक्रामक रूपमा विस्तार गर्ने रणनीति लिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend