logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने सरकारी निर्णयको राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा स्वागत


  • जन आकाश
  • बुधबार, जेष्ठ २७ २०८३

काठमाडौं– स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी राजदरबार हत्याकाण्डबारे पुनः छानबिन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ।



गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै २०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि प्रतिष्ठानले त्यसप्रति आभार व्यक्त गरेको हो।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा स्थापना कालदेखि नै दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै आएको उल्लेख गर्दै सरकारी तहबाट पुनः अनुसन्धानको पहल हुनु गौरवको विषय भएको जनाइएको छ।

विज्ञप्तिमा लामो समयपछि भए पनि इतिहासको अत्यन्त गम्भीर र संवेदनशील घटनाको पुनरावलोकन गरी वास्तविक दोषी तथा सम्भावित षड्यन्त्रको पर्दाफास गर्ने उद्देश्यले चालिएको कदम साहसिक, सराहनीय र स्वागतयोग्य रहेको उल्लेख गरिएको छ। साथै यस निर्णयले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।

प्रतिष्ठानले निष्पक्ष र वैज्ञानिक ढङ्गले अनुसन्धान सम्पन्न गर्न नयाँ छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ। राजनीतिक पूर्वाग्रह, बाह्य वा आन्तरिक प्रभावबाट मुक्त भएर अनुसन्धान गरिएमा नागरिकले घटनाको वास्तविकता जान्न पाउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच प्रतिष्ठानले स्वर्गीय राजा वीरेन्द्रले विश्व शान्ति स्थापना तथा देश र जनताप्रति पु¥याएको योगदानको स्मरण गर्दै उहाँको सम्पत्ति संरक्षण र शान्ति स्तम्भ निर्माणका लागि पहल गरिरहेको जनाएको छ। वर्तमान सरकारले राजा वीरेन्द्रको योगदानको उच्च मूल्याङ्कन गर्दै विश्व शान्ति, अमनचयन र राष्ट्रिय एकताका पक्षमा विशेष पहल गर्ने विश्वास समेत प्रतिष्ठानले व्यक्त गरेको छ।

प्रतिष्ठानले दरबार हत्याकाण्डको पुनः छानबिन प्रक्रिया केवल घोषणामै सीमित नरही छिटो निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ। साथै सत्यको खोजी र ऐतिहासिक न्यायको महाअभियानमा आवश्यक सहयोग र ऐक्यबद्धता सधैं रहने प्रतिबद्धता पनि जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend