जन आकाश
काठमाडौं । चितवनको भरतपुरस्थित देशकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षको नियुक्ति ढिलाइ हुँदा अस्पताल अस्तव्यस्त बन्दै जान थालेको छ । अध्यक्ष नहुँदा नीतिगत निर्णयदेखि दैनिक कामकाज सञ्चालनमा समेत प्रत्यक्ष असर परेको छ ।
अस्पतालले खरिद गरेका सामानहरूको भुक्तानी रोकिएको छ । त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा देखिन थालेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले विगत २ महिनादेखि तलब भत्ता खान पाएका छैनन् । निवृत्त भएका कर्मचारीहरुको उपदान वापत पाउने रकमको निकासा रोकिएको छ ।
२०८२ चैत २० गतेदेखि अध्यक्ष रहेका डा.विजय न्यौपानेको कार्यकाल सकिएपछि सरकारले २०८३ वैशाख १५ गते अस्पतालको नयाँ अध्यक्ष नियुक्तिका लागि ७ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । वैशाख २२ गतेसम्म दरखास्तको म्याद राखेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदकहरुको सर्टलिष्ट गरेको नाम प्रकाशन गर्न एक महिना भन्दा बढी समय लगाएको छ ।
जेठ २८ गते मन्त्रालयले सार्वजनिक गरेको सर्टलिष्टमा डा.अजयकुमार झा (धनुषा), डा. जया श्रेष्ठ (चितवन), डा. भावना वाग्ले (चितवन), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही, डा. लक्ष्मीनारायण सिंह (महोत्तरी, डा विजयचन्द्र आचार्य (चितवन) र डा.विश्वराम पौडेल (रामेछाप) गरी ७ जना रहेका छन् मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आगामी असार १ गते अपराह्न ५ बजेसम्म आफ्नो कार्ययोजना तथा संस्थागत सुधारसम्बन्धी दृष्टिकोण समेटिएको अधिकतम तीन हजार शब्दको ‘सोचपत्र’ इमेलमार्फत पेश गर्न आग्रह गरेको छ ।
प्रारम्भिक सूची निकाल्न मात्रै एक महिनाभन्दा बढी समय लगाएको मन्त्रालयले सोचपत्रको मूल्याङ्कन गरेर कहिले अध्यक्षका लागि सिफारिस गर्ने हो भन्ने एकिन छैन । सोचपत्र इमेल मार्फत मागे पनि आवेदकहरुको प्रस्तुतिकरण र अन्तर्वार्ताको समय अझै निर्धारण गरेको छैन ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति मात्र अध्यक्ष पदका लागि योग्य हुने प्रावधान रहेको छ ।
मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अस्पतालको अध्यक्ष चयन गर्ने व्यवस्था छ ।अस्पतालका कार्यकारी निर्देशक रहेका डा। शिवजी पौडेललाई अध्यादेशमार्फत गत वैशाख १९ गतेबाट पदमुक्त गरेपछि अस्पताल पनि निमित्त कार्यकारी निर्देशकको भरमा चल्दै आएको छ । निमित्त कार्यकारी निर्देशक रहेका डा.उमेश नेपालले अध्यक्षको नियुक्ती समयमा नै नहुँदा अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या भएको बताए । ‘अध्यक्ष नभएपछि अस्पतालको आम्दानी खाताबाट रकम खर्च खातामा ल्याउन मिलेन, अस्पतालले कमाएको सबै रकम आम्दानी खातामा जम्मा भएको छ,’ निमित्त कार्यकारी निर्देशक डा।नेपालले भने, ‘अध्यक्ष हुँदा नीतिगत निर्णय गर्ने र सरसल्लाह लिने मान्छेसमेत भएन, एक्लै परियो ।’
उनले सरकारले नीजि अस्पतालमा बीमा कार्यक्रम बन्द गरेपछि अस्पतालमा अस्वभाविक रुपमा बिरामीको चाप बढेको र समयमा नै सेवा उपलब्ध गराउन असहजता उत्पन्न हुँदा विभिन्न नाममा हुलहुज्जत, आन्दोलन, धाकधम्कीको सामाना गर्नुपरेको गुनासो गरे ।
बिरामीका आफन्तहरुले समयमा नै सेवा नपाएको, औषधि लगायतका अन्य सेवाहरु उपलब्ध नभएको भन्दैं अस्पताल प्रशासन घेराउ गर्ने, आन्दोलन गर्ने गर्न थालेका छन् ।पहिले दैनिक ८५० हाराहारी बिरामी आउने अस्पतालमा अहिले अहिले दैनिक एक हजार २०० भन्दा बढी बिरामी आउने गरेका छन् । उही पूर्वाधार र उही जनशक्तिमा थपिएका बिरामीलाई सेवा दिन कठिन भएको डा.नेपालको भनाइ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend