logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राहदानी छपाई प्रकरणमा लेखा समितिको छलफल विषयवस्तुमा प्रवेश नगरी स्थगित


  • जन आकाश
  • मंगलबार, असार ३० २०८३

काठमाडौं । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो । योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।



आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए । सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे ।

उनले यो विषय कर्मचारी मात्रै नभएर राजनीतिक स्वार्थको विषय समेत भएकोले सबै विषयको निरूपण अदालतबाट हुनुपर्ने र न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । अर्की सांसद क्रान्तिशिखा धितालले पनि राहदानीको विषयमा छलफल गर्ने उपयुक्त समय नभएको भन्दै विविध विषयमा प्रवेश गर्न माग गरिन् ।

अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए । योसँगै सभापति भरतबहादुर खड्काले बैठक स्थगित गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend