logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

विपिन आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन भ्रमणमा जाने


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय सांसदको टोली चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सांसदहरू कात्तिक २९ गते चीन प्रस्थान गर्ने तयारीमा छन्।



१० दिनसम्म चल्ने भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको स्थलगत अवलोकन गर्नुका साथै केही कार्यक्रममा सहभागिता जनाउने रास्वपाका नेताहरूले बताएका छन्।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल र सागर ढकालको नाम निश्चित भइसकेको छ। बाँकी सदस्यको टुंगो लाग्न भने बाँकी छ।

महामन्त्री आचार्यले चीन भ्रमणमा जान इच्छुक सांसदहरूको नाम संकलन गरिरहेका छन्। उनले रास्वपाका सांसदहरू रहेको ह्वाट्सएप समूहमा सन्देश पठाउँदै भ्रमणमा सहभागी हुन चाहनेलाई नाम टिपाउन आग्रह गरेका छन्।

रास्वपाका एक सांसदका अनुसार भ्रमणमा जान इच्छुक सांसदको संख्या ३० नाघिसकेको छ। टोलीमा कसलाई सहभागी गराउने भन्ने निर्णय महामन्त्री आचार्यले गर्नेछन्। भ्रमणको तीन दिनअघि मात्रै सबै सदस्यको नाम अन्तिम हुने सम्भावना रहेको ती सांसदले बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमणमा रास्वपाका सांसदहरू मात्रै सहभागी हुनेछन्। भ्रमणको विस्तृत कार्यतालिका र महामन्त्री आचार्यले गर्ने राजनीतिक भेटवार्ताबारे भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यसअघि २०८१ असोज ५ गते तत्कालीन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको १४ सदस्यीय टोली चीन भ्रमणमा गएको थियो। उक्त टोलीमा सात जना सांसद र सात जना गैरसांसद सहभागी थिए। तर, पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्न लागेको भन्दै भ्रमण छोट्याएर टोली असोज १० गते नै नेपाल फर्किएको थियो।

रास्वपाका प्रवक्तासमेत रहेका सांसद जगदीश खरेलले चीन भ्रमणको निमन्त्रणा आएको भए पनि जाने टोलीको अन्तिम टुंगो लागिनसकेको बताएका छन्।

यसअघि भदौको पहिलो साता रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी भए पनि उक्त भ्रमण रोकिएको थियो।

यसपटक महामन्त्री आचार्यको नेतृत्वमा हुन लागेको भ्रमणलाई रास्वपाका सांसदहरूको चीन भ्रमण तथा दुई पार्टीबीचको सम्बन्धका दृष्टिले चासोका साथ हेरिएको छ। यद्यपि, भ्रमणका क्रममा हुने औपचारिक भेटघाट र छलफलका विषय भने सार्वजनिक हुन बाँकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend