जन आकाश
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको शवगृह बाहिर यतिबेला पीडा, प्रतीक्षा र आशाको कहालीलाग्दो दृश्य देखिन्छ।
कोही आफन्तका तस्वीर नियाल्दै रोइरहेका छन्, कोही शवगृहको ढोकातिर टोलाइरहेका छन्। कसैको आँखामा आफ्नो मान्छे भेटिने आशा छ भने कसैको अनुहारमा निराशा झल्किन्छ। आफन्त हराएको पीडा सहन नसकेर कतिपय भुइँमै मुर्छित भइरहेका छन्।
अस्पताल परिसरमा एम्बुलेन्स र शववाहन आउने–जाने क्रम रोकिएको छैन। पीपीई लगाएका सुरक्षाकर्मी तथा उद्धारमा खटिएका युवाहरू एम्बुलेन्सबाट शव निकालेर शवगृहभित्र लैजान व्यस्त छन्।
तर यहाँको चुनौती शव ल्याउनुमा मात्र सीमित छैन। शवको पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्ततः सही परिवारको जिम्मा लगाउनु झन् ठूलो चुनौती बनेको छ।
भोटेकोशी बाढी तथा अन्य विपद्मा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिका शव टिचिङ अस्पतालमा ल्याइएपछि शवगृह क्षमताभन्दा बढी चापमा छ।
टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पछिल्लो तथ्यांकअनुसार अस्पतालमा १७७ शव व्यवस्थापनका लागि ल्याइएका छन्। तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ। ८५ शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने २१ शव परिवारले पहिचान गरी लगिसकेका छन्।
टिचिङ अस्पतालमा करिब १५० शव राख्न सक्ने क्षमता छ। तर अहिले त्यो क्षमतासमेत नाघिसकेको छ। ठाउँ अभाव भएपछि एकै दिन करिब ३१ शव पशुपतिको चिस्यान गृहमा पठाउनुपरेको डा. चौधरी बताउँछन्।
बाढीमा बेपत्ता भएका धेरै व्यक्तिका शव लामो समयपछि फेला परेका छन्। ८–९ दिन बितिसकेकाले अधिकांश शवमा कुहिने प्रक्रिया (डिकम्पोजिसन) अत्यधिक भइसकेको छ।
यसको असर शवको स्वरूपमा स्पष्ट देखिन्छ। अनुहार बिग्रिएका छन्, कतिपय शव टुक्रा–टुक्रा अवस्थामा छन्। सग्लो देखिने शवसमेत अनुहार हेरेर पहिचान गर्न कठिन भएको छ।
टिचिङ अस्पतालमा शव व्यवस्थापनमा खटिएका एसपी प्रदीप सिंहका अनुसार अहिले अनुहार हेरेर सनाखत गर्ने अवस्था लगभग समाप्त भएको छ।
‘ट्याटु, हातखुट्टाको विशेष अवस्था वा शरीरमा रहेका अन्य विशिष्ट चिह्नबाट केही शव पहिचान गर्न सकिने अवस्थामा छन्,’ उनी भन्छन्, ‘तर अधिकांश शव अनुहार हेरेर मात्र पहिचान गर्न सम्भव छैन।’
त्यसैले अस्पताल परिसरमा विशेष पहिचानयोग्य चिह्न भएका शवका तस्वीर राखेर आफन्तबाट सनाखत गराउने प्रयास भइरहेको छ। तर टुक्रा–टुक्रा अवस्थामा आएका शवका लागि तस्वीरका आधारमा समेत पहिचान गर्न कठिन छ।
यही कारण अहिले शव पहिचानको सबैभन्दा भरपर्दो माध्यम डीएनए प्रोफाइलिङ बनेको छ। मानिसको बाहिरी स्वरूप नष्ट भए पनि डीएनएमा रहेको आनुवंशिक सूचना सहजै हराउँदैन। त्यसैले डिकम्पोज्ड वा टुक्रा–टुक्रा अवस्थामा रहेका शवको वैज्ञानिक पहिचानका लागि डीएनए परीक्षण महत्वपूर्ण बनेको छ।
डा. चौधरीका अनुसार मृतकको नमुना टिचिङ अस्पतालमै संकलन गरिन्छ भने आफन्तको नमुना महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा संकलन गरिन्छ।
डीएनए मिलानका लागि सबैभन्दा नजिकको रक्तसम्बन्ध भएका व्यक्तिको नमुना उपयोगी हुन्छ। विशेषगरी आमा, बुबा, छोरा वा छोरीको नमुनासँग मिलान गर्दा पहिचानको सम्भावना उच्च हुन्छ।
यस प्रक्रियाले आफन्तलाई शव हेरेर अनुमान गर्नुपर्ने बाध्यताबाट समेत जोगाउँछ। अत्यधिक बिग्रिएको शव हेर्दा भावनात्मक दबाबका कारण गलत सनाखत हुने जोखिमसमेत रहन्छ।
शवको संख्या बढ्दै जाँदा भण्डारणको समस्या थपिएको छ। विशेषगरी डिकम्पोज्ड शवलाई खुला वा सामान्य वातावरणमा राख्न मिल्दैन। शवबाट निस्कने दुर्गन्ध तथा जैविक जोखिमका कारण बन्द र उपयुक्त चिस्यानयुक्त स्थान आवश्यक पर्छ।
‘कुहिएका शव बाहिर राख्न मिल्दैन,’ डा. चौधरी भन्छन्, ‘दुर्गन्ध फैलिन्छ, संक्रमणको जोखिम बढ्छ। त्यसैले सीमित क्षमताभित्रै बन्द ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।’
लगातार शव व्यवस्थापन भइरहेकाले अस्पताल आसपासको वातावरणसमेत प्रभावित भएको छ। बिरामी, बिरामीका आफन्त तथा नजिकै रहेका अन्य संस्थासमेत दुर्गन्धबाट प्रभावित भएका छन्।
शवको संख्या र अवस्था जति चुनौतीपूर्ण छ, त्यसलाई व्यवस्थापन गर्ने जनशक्तिको अवस्था पनि त्यत्तिकै कठिन छ।
एक साताभन्दा बढी समयदेखि चिकित्सक, प्रहरी तथा कर्मचारीहरू लगातार डिकम्पोज्ड शवसँग काम गरिरहेका छन्। दुर्गन्ध, गर्मी, जैविक जोखिम र मानसिक दबाबका बीच उनीहरू दिनरात खटिएका छन्।
फरेन्सिक चिकित्सकको संख्या सीमित भएकाले पर्याप्त रोटेसन गर्नसमेत कठिन भएको छ। लगातार अत्यन्त संवेदनशील र मानसिक रूपमा कठिन काम गर्नुपर्दा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा शारीरिक र मानसिक थकान बढिरहेको छ।
शव व्यवस्थापन प्राविधिक काम मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि कठिन जिम्मेवारी हो। एकातिर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले शवको अवस्था हेर्नुपर्ने बाध्यता छ भने अर्कोतिर बाहिर आफन्तहरू आफ्नो मान्छे भेटिने आशामा प्रतीक्षारत छन्।
काठमाडौंमा विपद्बाट आएका शवको पोस्टमार्टम गर्ने प्रमुख केन्द्र टिचिङ अस्पताल भएकाले विभिन्न जिल्लाबाट शव यहाँ ल्याउने क्रम जारी छ।
तर सबै शव एकैपटक काठमाडौं ल्याउँदा टिचिङ अस्पतालमा चाप झन् बढ्ने अवस्था छ। डा. चौधरीका अनुसार सकेसम्म सम्बन्धित जिल्लामै प्रहरी र चिकित्सक परिचालन गरी प्रारम्भिक पहिचान, नमुना संकलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था प्रभावकारी हुन सक्छ।
त्यसका लागि प्रभावित क्षेत्रमा फरेन्सिक विशेषज्ञ, आवश्यक पूर्वाधार र डीएनए नमुना संकलनको सुविधा भने उपलब्ध हुनुपर्छ।
अहिले सबै प्रभावित क्षेत्रमा यस्तो सुविधा समान रूपमा उपलब्ध छैन। त्यसैले पहिचान हुन नसकेका वा थप फरेन्सिक परीक्षण आवश्यक भएका शव टिचिङ अस्पताल ल्याउने गरिएको छ। स्थलगत रूपमा सनाखत भएका शव भने त्यहीँ आफन्तलाई जिम्मा लगाउने गरिएको छ।
शवगृहभित्र प्रहरीहरू पालैपालो खटिएका छन्। एउटै टोलीले लामो समयसम्म डिकम्पोज्ड शवसँग काम गर्न नसक्ने भएकाले प्रहरीहरू परिवर्तन भएर जिम्मेवारी सम्हालिरहेका छन्।
बाहिर आफन्तहरू शवका तस्वीर हेरेर आफ्नो मान्छे खोजिरहेका हुन्छन्। भित्र प्रहरीहरू शवको विवरण टिपिरहेका छन् भने चिकित्सकहरू पोस्टमार्टम र नमुना संकलनमा व्यस्त छन्।
शवको अवस्था, शरीरमा रहेका विशेष चिह्न, कपडा, गहना तथा अन्य विवरणले सम्भावित पहिचानतर्फ संकेत गर्छ। त्यसपछि आवश्यकताअनुसार डीएनए परीक्षणबाट वैज्ञानिक रूपमा पहिचान पुष्टि गर्ने प्रक्रिया अघि बढ्छ।
शव व्यवस्थापनसँगै शवगृह वरपर सरसफाइको चुनौती पनि उत्तिकै ठूलो छ। ८–९ दिनसम्म कुहिने अवस्थामा रहेका शवबाट निस्कने दुर्गन्ध, चुहिने रगत तथा अन्य जैविक फोहोरका कारण वातावरण असहज बनेको छ।
यही अवस्थामा अहिले युवाहरूको एउटा समूह सरसफाइमा खटिएको छ। पीपीई, मास्क, सेनिटाइजर र फिनाइल प्रयोग गर्दै उनीहरू शवगृह वरपरको क्षेत्र सफा राख्ने प्रयास गरिरहेका छन्। एम्बुलेन्सबाट शव निकाल्दा चुहिएको रगत वा अन्य फोहोर तत्काल सफा गर्ने, बाटो पखाल्ने तथा शव व्यवस्थापनमा आवश्यक सहयोग गर्ने काम उनीहरूले गरिरहेका छन्।
शवको संख्या धेरै भएकाले काम निरन्तर चलिरहेको छ। एउटा समूहले केही समय काम गरेपछि अर्को समूहले जिम्मेवारी सम्हाल्ने गरी दुई सिफ्टमा युवा परिचालन गरिएको छ। तर धेरै शव एकैपटक आउँदा केही समयमै शवगृह वरपरको अवस्था फेरि उस्तै हुने भएकाले सरसफाइको काम पटक–पटक दोहोर्याउनुपर्ने अवस्था छ।
टिचिङ अस्पतालमा अहिले देखिएको अर्को समस्या हो—शव आउने र आफन्तको जिम्मा लगाएर पठाउने गति समान छैन। विभिन्न जिल्लाबाट शव आउने क्रम बढिरहेको छ। तर धेरै शवको पहिचान हुन नसकेका कारण आफन्तलाई जिम्मा लगाएर पठाउन सकिएको छैन। फलस्वरूप शवगृहमा चाप बढ्दै गएको छ।
पहिचान भएका शव परिवारलाई जिम्मा लगाइन्छ। पहिचान हुन नसकेका शवबाट डीएनए नमुना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी व्यवस्थापनतर्फ पठाइन्छ।
तर आफन्तका लागि भने प्रतीक्षाको समय झन् लामो भइरहेको छ। टिचिङ अस्पतालको शवगृह बाहिर उभिएका प्रत्येक व्यक्तिका पछाडि एउटा परिवारको कथा छ।
कसैले श्रीमान् खोजिरहेका छन्, कसैले छोरा। कसैले बुबा, आमा वा दाजुभाइको प्रतीक्षा गरिरहेका छन्। शव पहिचान नहुँदासम्म उनीहरूको शोक पनि अधुरै रहन्छ। त्यसैले अहिले शव व्यवस्थापनको प्रश्न केवल शव कहाँ राख्ने भन्नेमा सीमित छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend