जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कसैलाई पनि रोक नलगाइएको बताएका छन्।
उनले आगामी असोज ३ गतेदेखि वडा अधिवेशन सुरु हुने र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न हुने जानकारी दिए।
थापाले महाधिवेशनमा सहभागी हुन सबै पार्टी सदस्यलाई समान अवसर रहेको बताउँदै अधिवेशनमा प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट जिम्मेवारी प्राप्त गर्ने व्यक्ति पार्टी नेतृत्वमा रहने स्पष्ट पारे।
“कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन। सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ। महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा जसले जिम्मेवारी पाउनुहुन्छ, उहाँ नेतृत्वमा रहनुहुन्छ,” उनले भने।
पार्टीभित्रको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै थापाले प्रतिस्पर्धामा जिम्मेवारी नपाउने नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए।
उनले महाधिवेशनले तत्काल पार्टीभित्रको संगठनात्मक विषयलाई व्यवस्थित गर्ने भए पनि त्यसपछि नागरिकसँगको विश्वास पुनःस्थापित गर्ने अभियानमा कांग्रेस अघि बढ्ने बताए।
“अधिवेशनले अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ। त्यो विश्वास पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ,” थापाले भने।
उनका अनुसार दसैँलगत्तै कांग्रेसले देशव्यापी अभियान सुरु गर्नेछ। उनले महाधिवेशन सम्पन्न भएपछि चाडपर्वको समय भए पनि त्यसलगत्तै देशभर पुगेर नागरिकसँग संवाद गर्ने यात्रा सुरु गरिने बताए।
“दसैँको लगत्तै, यो महाधिवेशनको लगत्तै चाडपर्व छ। दसैँको लगत्तैबाट हाम्रो देशभरको यात्रा सुरु हुन्छ,” उनले भने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend