जन आकाश
काठमाडौं । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठक शनिबारदेखि काभ्रेमा सुरु भएको छ।
काभ्रेको एक रिसोर्टमा जारी बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ।
शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक थापाले छुट्टै प्रतिवेदन प्रस्तुत गरेपछि त्यसबारे थप छलफल गर्नुपर्ने निष्कर्षमा कार्यदल पुगेको थियो। थापाले अध्यक्षलाई हटाउने प्रस्तावसहित प्रतिवेदन ल्याएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।
त्यसको जवाफमा उपाध्यक्ष एवं कार्यदल सदस्य विष्णु पौडेलले ‘पहिला एमाले बुझेर अनि एमाले भएर आउन’ सुझाव दिएको स्रोतले जनाएको छ।
यसैबीच, कार्यदलका बहुमत सदस्य महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनको पक्षमा रहेको स्रोतको दाबी छ। महासचिव पोखरेलले कार्यदलकै तर्फबाट तयार पारेको प्रतिवेदनको ‘काउन्टर’मा संयोजक थापाले छुट्टै प्रतिवेदन ल्याएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएका थिए।
स्रोतका अनुसार काभ्रेको रिसोर्टमा जारी बैठकमा दुवै प्रतिवेदनमाथि विस्तृत छलफल गरी सोमबारसम्म एउटै प्रतिवेदन तयार गर्ने तयारी भइरहेको छ।
कार्यदलले निर्वाचन परिणामको समीक्षा, पार्टीभित्र देखिएका समस्या तथा आगामी दिनमा पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिरहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend