logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

एआई विकासको गति सामूहिक रूपमा सुस्त बनाउने प्रस्तावमा एनभिडिया र मेटाको असहमति


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावित जोखिम कम गर्न अनुसन्धानको गति सामूहिक रूपमा सुस्त बनाउनुपर्ने प्रस्तावप्रति एनभिडियाका सीईओ जेन्सेन हुआङ र मेटाका सीईओ मार्क जुकरबर्गले असहमति जनाएका छन्।



उच्च क्षमताका एआई विकास गरिरहेका केही कम्पनीहरूले सुरक्षाका लागि अनुसन्धानको गति समन्वय गरेर घटाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। तर हुआङ र जुकरबर्गले एआईबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनको जिम्मेवारी सम्बन्धित कम्पनी आफैंले लिनुपर्ने बताएका छन्।

हुआङले एआई सुरक्षाका लागि अमेरिकामा नयाँ कानुन वा नियम आवश्यक नरहेको बताएका छन्। उनका अनुसार बजारको दबाब र कम्पनीहरूको आफ्नै जिम्मेवारीले जोखिमयुक्त एआई उत्पादन बजारमा आउनबाट रोक्न सक्छ।

यस्तै, जुकरबर्गले प्रत्येक एआई प्रयोगशालाले आफ्ना मोडल सुरक्षित रूपमा विकास गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले एआई मोडलका कारण मानिसलाई क्षति पुगे कम्पनीहरू कानुनी दायित्वमा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि कम्पनीहरूलाई पर्याप्त प्रोत्साहन रहेको बताएका छन्।

यसअघि एन्थ्रोपिकका सीईओ डारियो अमोडेई, ओपनएआईका सीईओ साम अल्टम्यान र स्पेसएक्सका प्रमुख इलन मस्कले उच्च क्षमताका एआईको विकास केही समय समन्वय गरेर सुस्त बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। गुगल र माइक्रोसफ्टले पनि उद्योगबीचको सहकार्यलाई समर्थन गरेका छन्।

एआई विकासको गति र सुरक्षाबीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषयमा प्रविधि उद्योगभित्रै फरक धारणा देखिएको छ। एक पक्षले तीव्र नवप्रवर्तनसँगै कम्पनीहरूले आफ्नै सुरक्षा संयन्त्र बलियो बनाउनुपर्ने बताइरहेको छ भने अर्को पक्षले अत्याधुनिक एआई अनुसन्धानमा उद्योगव्यापी समन्वय आवश्यक रहेको तर्क गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend