जन आकाश
काठमाडौं । नगदे बालीका रूपमा खेती हुँदै आएको जुट व्यवस्थापन गर्न यतिबेला सुनसरीका किसानलाई भ्याइनभ्याइ छ। पछिल्लो एक महिनादेखि किसान जुट काट्ने, पानीमा डुबाएर राख्ने, केलाउने, सुकाउने र बजारमा बिक्री गर्न लैजाने काममा व्यस्त छन्।
जुट काटेपछि करिब १५ दिन पानीमा डुबाएर राख्ने र त्यसपछि पानीबाट निकालेर जुट तथा सन्ठी छुट्याउने गरिन्छ। जुट सुकाएपछि बिक्रीका लागि तयार हुन्छ भने सन्ठी दाउराको विकल्पका रूपमा प्रयोग गर्नुका साथै गुइँठा बनाउन र घेराबेरा लगाउन समेत प्रयोग हुने किसान बताउँछन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान रसिद मियाँ पाँच कट्ठा जमिनमा लगाएको जुट केलाउन व्यस्त छन्। उनका अनुसार पाँच जना मजदुरले दुई दिन लगाएर जुट केलाएका छन्। अहिले मजदुरको ज्याला महँगो हुँदा उत्पादन लागतसमेत बढेको किसानको भनाइ छ।
सोही क्षेत्रका रञ्जीत मेहताले १० कट्ठा, चन्दन मेहताले १४ कट्ठा र जगदीश मेहताले ४ कट्ठा जमिनमा जुट खेती गरेका छन्। किसानका अनुसार पाँच कट्ठा जमिनमा जुट खेती गर्दा करिब ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। मजदुरको अभाव र महँगो ज्यालाले खेतीमा चुनौती थपिएको उनीहरू बताउँछन्।
हाल स्थानीय बजारमा ४० किलो जुटको करिब ६ हजार रुपैयाँमा बिक्री भइरहेको किसानले बताएका छन्। जुट केलाएर तयार भएको जानकारी पाएपछि व्यापारीहरू किसानको घरमै पुगेर खरिद गर्ने गरेका छन्।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार भोक्राहा नरसिंह, कोसी, हरिनगर, गढी, बर्जु, देवानगन्ज गाउँपालिका तथा दुहबी र इनरुवा क्षेत्रमा जुट खेती बढी हुने गरेको छ।
केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार गत वर्ष सुनसरीमा १ हजार ३०८ हेक्टर क्षेत्रफलमा जुट खेती हुँदा २ हजार १० मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष भने १ हजार ३३४ हेक्टरमा खेती भई २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ।
नेपालमा जुट खेती मुख्यतः गर्मी तथा वर्षायाममा हुने गर्छ। तातो र आर्द्र हावापानी तथा पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले यसको खेती तराई क्षेत्रमा बढी हुने गरेको छ। सामान्यतया चैत–वैशाखमा रोपिने जुट जेठ–असारमा तीव्र रूपमा बढ्ने र साउन–भदौमा काटेर उत्पादन लिने गरिन्छ।
यद्यपि पूर्वी तराईका झापा, मोरङ र सुनसरीको उत्पादनले मात्र सुनसरी तथा मोरङका जुट उद्योगको माग धान्न नसक्दा भारत र बंगलादेशबाट समेत कच्चा जुट आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरू बताउँछन्।
किसानले पछिल्ला वर्षमा जुटको राम्रो मूल्य पाउन थालेकाले खेतीप्रति आकर्षण बढ्न थालेको कृषि ज्ञान केन्द्रको भनाइ छ। मूल्य यही क्रममा बढ्दै गए किसानले खेतीको क्षेत्रफल विस्तार गर्ने र उत्पादनसमेत बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend