जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि सानेपामा पदाधिकारी बैठक बसिरहेको छ। बैठकमा देउवा समूह छाडेर सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षमा आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गर्ने विषयमा छलफल भइरहेको छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवा समूहबाट अलग भएर संस्थापन पक्षमा आउन ४० भन्दा बढी नेताले नाम टिपाएका छन्। उनीहरूलाई केन्द्रीय सदस्य मनोनित गर्ने तयारीस्वरूप पदाधिकारी बैठक बसेको हो।
सभापति थापाले केही दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएका केन्द्रीय सदस्यसरह हैसियत दिने निर्णय गरेका थिए। त्यसपछि देउवा पक्षमा रहेका केही नेताहरू थापा नेतृत्वको पक्षमा खुलेका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजै बस्दैछ। पदाधिकारी बैठकबाट मनोनित गरिएका केन्द्रीय सदस्यहरू पनि केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनेछन्।
यसैबीच, सभापति थापाले असोज ३ गतेदेखि १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्ने मिति तय गरेका छन्। उता, देउवा समूहले पनि चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरी १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ। देउवा पक्षले आफ्नै नेतृत्वमा महाधिवेशन गर्ने तयारी गर्दै असोज १५ गतेदेखि महाधिवेशनको कार्यतालिका अघि सारेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend