जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कोशी प्रदेशमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल देखिएको छ।
विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति बनेसँगै कोशी प्रदेशका विभिन्न नेताहरू पनि आफ्नो राजनीतिक धार परिवर्तन गर्दै थापा नेतृत्वको पक्षमा उभिन थालेको दाबी गरिएको छ। विशेष महाधिवेशनबाट थापा सभापति तथा गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री निर्वाचित भएका थिए।
कोइराला परिवारको प्रभाव रहेको कोशी प्रदेशमा नेता डा. शेखर कोइरालाको समूहमा पछिल्लो समय दबाब बढेको दाबी गरिएको छ। १४औँ महाधिवेशनमा शेखरनिकट मानिएका गुरुराज घिमिरे विशेष महाधिवेशनपछि महामन्त्री बनेका छन्। यस्तै, कोशीका केही प्रभावशाली नेताहरू पनि शेखर समूहबाट अलग हुँदै गएको विवरण सार्वजनिक भएका छन्।
सुनसरीका राजीव कोइराला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू तथा सुनसरी कांग्रेसका सभापति केदार भण्डारीलगायत नेताहरूको राजनीतिक धारमा परिवर्तन आएको दाबी गरिएको छ।
कोशी प्रदेशमा शेखर पक्षमा पूर्वमुख्यमन्त्री केदार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत सीमित नेताहरू सक्रिय रहेको बताइएको छ।
पूर्वसभापति शेरबहादुर देउवानिकट मानिएका कोशीका केही प्रभावशाली नेताहरू पनि पछिल्लो समय थापा नेतृत्वतर्फ खुलेको दाबी गरिएको छ।
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङ्देम्बे, मीन विश्वकर्मा, राजीव ढुंगाना र विकास केसीलगायत नेताहरूको राजनीतिक धारमा परिवर्तन आएको विवरणमा उल्लेख छ। यस्तै, सीता गुरुङ, रामहरि खतिवडा, तारामान गुरुङ, झापा कांग्रेसका सभापति देउमान थेबे र सुधीर सिवाकोटीलगायत नेताहरू पनि नयाँ धारमा देखिएको दाबी गरिएको छ।
यसअघि देउवा पक्षबाट निर्वाचित वा नजिक रहेका केही नेताहरूलाई सभापति थापाले केन्द्रीय कार्यसमितिमा मनोनयनसमेत गरेका छन्। मनोनित १९ जनामा देउवा र शेखर दुवै पक्षसँग निकट रहेका नेताहरू समेटिएको सार्वजनिक विवरण छ।
कोशीमा प्रभावशाली मानिने नेता कृष्णप्रसाद सिटौला समूहमा पनि आन्तरिक फेरबदल देखिएको छ। १४औँ महाधिवेशनमा देउवा–सिटौला गठबन्धनबाट कोशी प्रदेश सभापति बनेका उद्धव थापाले पछिल्लो समय गगन थापा नेतृत्वको धारलाई समर्थन गरेको दाबी गरिएको छ।
त्यस्तै, सिटौला समूहबाट प्रदेश महामन्त्री बनेका भूपेन्द्र राई तथा पूर्वमन्त्री भीम पराजुली पनि नयाँ राजनीतिक समीकरणमा देखिएको बताइएको छ।
कांग्रेसभित्रको यो फेरबदललाई नेताहरूले आगामी महाधिवेशनको तयारी र पार्टीभित्र विकसित नयाँ शक्ति समीकरणसँग जोडेर हेरेका छन्। पछिल्लो समय शेखर कोइरालाले पार्टीभित्रका विभिन्न समूहका नेताहरूसँग छलफलसमेत अघि बढाएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend