logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

त्रिशूली बाढीपछि सडक खुलाउने काम तीव्र, पुल पुनर्निर्माणमा ७३ अर्बभन्दा बढी लाग्ने


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलको अस्थायी मर्मतसँगै बेलीब्रिज जडानको काम तीव्र पारिएको छ। गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आइसकेको छ भने रसुवागढीसम्मको आवागमन सहज बनाउन विभिन्न स्थानमा बेलीब्रिज जडानको तयारी भइरहेको छ।



भदौ १० गते आएको बाढीले ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा पूर्ण तथा आंशिक क्षति पुर्‍याएको सडक विभागले जनाएको छ। क्षतिग्रस्त संरचना तत्काल सञ्चालनमा ल्याउन सडक विभाग, नेपाली सेना तथा अन्य सम्बन्धित निकायका टोली परिचालन भएका छन्।

बाढीले रातामाटे क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा कटान गरेपछि नयाँ ट्रयाक खोलेर यातायात सञ्चालनमा ल्याइएको छ। त्यस्तै ठुलोखोला क्षेत्रमा जमेको करिब २ देखि ३ मिटर बाक्लो लेदो हटाएर सडक खुलाइएको छ। ठुलोखोला–काशीटार–देवीघाट क्षेत्रमा थुप्रिएको पहिरो र लेदोसमेत हटाइसकिएको विभागले जनाएको छ।

नुवाकोटको देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो बेलीब्रिज जडान सम्पन्न भएको छ। नेपाली सेनाले पाँच दिनमै उक्त पुल जडान गरेको हो। यससँगै गल्छीबाट देवीघाट हुँदै बट्टार, विदुर, त्रिशूली र गेर्खुसम्मको आवागमन सहज भएको विभागले जनाएको छ।

बाढीले क्षति पुर्‍याएको कोल्पु खोलाको पुलसमेत अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ। उक्त पुलको स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।

अब बेत्रावतीमा ७६ मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी भइरहेको छ। त्यसका लागि फाउन्डेसन निर्माण सुरु भइसकेको र आवश्यक सामग्री ढुवानीको काम अघि बढाइएको सडक विभागले जनाएको छ।

बाढीका कारण बेत्रावती क्षेत्रमा करिब चार किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो। त्यसमध्ये ३.२ किलोमिटर सडक खुलाइसकिएको र बाँकी करिब ८०० मिटर खण्ड मर्मत भइरहेको छ। जटिल भूगोलका कारण उक्त क्षेत्रमा सडक खुलाउन समय लागेको विभागको भनाइ छ। फलाखु खोलामा समेत बेलीब्रिज जडानको काम भइरहेको छ।

त्रिशूली बजारमा पनि बेलीब्रिज जडानका लागि प्राविधिक अध्ययन भइरहेको छ। यसअघि ६० मिटरको पुल रहेको स्थानमा बाढीले कटान गरेपछि खोलाको चौडाइ १२० मिटरभन्दा बढी पुगेको छ।

खोला फराकिलो भएकाले कति लामो र कुन प्रविधिको बेलीब्रिज राख्ने तथा कुन स्थान उपयुक्त हुने भन्ने विषयमा अध्ययन भइरहेको सडक विभागले जनाएको छ।

सडक विभागसँग हाल ५० मिटर लम्बाइका १० वटा बेलीब्रिज मौज्दात छन्। तर बाढीबाट क्षति भएका अधिकांश स्थानमा ७० मिटरभन्दा लामो पुल आवश्यक पर्ने भएकाले विभागसँग रहेका बेलीब्रिज पर्याप्त नभएको पुल महाशाखाले जनाएको छ।

पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतले नेपाललाई बेलीब्रिज सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतबाट ७० मिटर लामो एउटा बेलीब्रिज हेटौँडा आइसकेको र अर्को बेलीब्रिज पनि ढुवानीमा रहेको उनले बताए। चीनबाट करिब १०० मिटर कुल लम्बाइको बेलीब्रिज सहयोग गर्ने विषयमा छलफल भए पनि नेपालले बीचमा टेको नराखी एकल स्पानको पुल मागेको र त्यस्तो संरचना उपलब्धताको विषयमा प्रक्रिया अघि बढिरहेको उनले बताए।

अमेरिकाले हवाईजहाजबाट बेलीब्रिज पठाउने तथा अमेरिकी र नेपाली सेनाको सहकार्यमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपालले अमेरिकासँग १०० मिटर वा सोभन्दा लामो बेलीब्रिज माग गरेको विभागले जनाएको छ। तत्काल सडक र पुल सञ्चालनमा ल्याउने काम भइरहे पनि बाढीले क्षति पुर्‍याएका संरचनाको स्थायी पुनर्निर्माण चुनौतीपूर्ण देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायले तयार पारेको विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार क्षतिग्रस्त सडक तथा पुलको स्थायी पुनर्निर्माण र पुनर्स्थापनाका लागि ७३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

बाढीबाट प्रभावित ३७ मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका र चार वटामा आंशिक क्षति पुगेको छ। त्यस्तै ६८ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पूर्ण रूपमा नष्ट भएका छन्। सडक विभागले अहिले दीर्घकालीन पुनर्निर्माणभन्दा पनि नागरिकको आवागमन तत्काल सहज बनाउन अस्थायी सडक तथा पुल निर्माणलाई प्राथमिकता दिइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend