logo बिहिबार, असोज १ २०८३ | Thursday 17th September 2026

कर्णालीका पूर्वकानुनमन्त्री हिमबहादुर शाहीको निधन


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं ।  कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं नेपाली कांग्रेसका दैलेखका अग्रणी नेता हिमबहादुर शाहीको निधन भएको छ। बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।



शाहीलाई हृदयाघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाहीले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

२००६ सालमा जन्मिएका शाहीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत राजनीति गरेका उनी विभिन्न समयमा गरी ९ पटक गिरफ्तार भएका थिए। २०४६ सालको जनआन्दोलनका क्रममा उनले ५१ दिन हिरासतमा बिताएका थिए।

शाही २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बनेका थिए। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए। यद्यपि, दुवै निर्वाचनमा उनी निर्वाचित हुन सकेनन्।

२०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेका शाहीले प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पनि बनेका थिए।

प्रदेशसभाको पाँचवर्षे कार्यकाल पूरा गरेपछि शाही सक्रिय राजनीतिबाट टाढिँदै आफ्नै गाउँमा बस्दै आएका थिए। उनको निधनले नेपाली कांग्रेस दैलेख तथा कर्णाली प्रदेशको राजनीतिक वृत्तमा शोक छाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend