logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

स्विट्जरल्यान्डमा नेपाली आइटी कम्पनीको प्रविधि प्रदर्शनी


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । नेपाली आइटी कम्पनीहरूले स्विट्जरल्यान्डको बजारमा आफ्ना सेवा तथा प्रविधि समाधान प्रस्तुत गरेका छन्।



ज्युरिखमा आयोजित टेक रोडशोमा नेपालका १८ वटा आइटी कम्पनीले आफ्ना सेवा, विशेषज्ञता र प्रविधिबारे प्रस्तुति दिएका हुन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज् (नास–आइटी) को आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

रोडशोमा सहभागी कम्पनीहरूले एआई, साइबर सुरक्षा, सफ्टवेयर तथा प्रडक्ट डेभलपमेन्ट, आइटी सर्भिसेस, बीपीओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायतका क्षेत्रमा आफूले प्रदान गर्दै आएका सेवाबारे जानकारी दिएका थिए।

कार्यक्रममा नेपाली आइटी उद्योग र स्विट्जरल्यान्डका व्यवसायीबीच सहकार्य, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे छलफल भएको थियो। साथै, नेपालको आइसीटी क्षेत्र, दक्ष जनशक्ति र आइटी निर्यातको अवस्थाबारे पनि जानकारी आदानप्रदान गरिएको थियो।

नास–आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आइटी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताए। नेपाली कम्पनी र विदेशी व्यवसायबीच सहकार्यका अवसर खोज्न रोडशो आयोजना गरिएको उनको भनाइ थियो।

स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्विट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्धबारे जानकारी दिँदै नेपाली आइटी कम्पनी र स्विस व्यवसायबीच सहकार्यका सम्भावनाबारे छलफल गरेको थियो।

नास–आइटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको जनाएको छ। स्विट्जरल्यान्डको रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन (एसडीसी) लगायत साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend