जन आकाश
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरेको छ।
बैंकको दमक शाखामार्फत हस्तान्तरण गरिएको उक्त उपकरण विशेषगरी सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा उपयोगी हुने बैंकले जनाएको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उपकरण हस्तान्तरण गरेका हुन्।
सभापति बुढाथोकीले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै कार्डियो मोनिटरले गम्भीर अवस्थामा रहेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न तथा सक्सन मेसिनले आकस्मिक श्वासप्रश्वाससम्बन्धी अवस्थामा उपचारमा सहयोग पुर्याउने बताइन्।
कार्यक्रममा प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा स्वास्थ्य सेवाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए।
उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
उक्त सहयोगले दमक क्षेत्रका नागरिकलाई आवश्यक परेको समयमा थप सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।
बैंकले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend