logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिमूलक भएको रास्वपाको निष्कर्ष


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।



पार्टी सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको बताए।

उनका अनुसार भ्रमणका क्रममा भारतीय पक्षबाट बाढी प्रभावित क्षेत्रका लागि प्राप्त सहयोगप्रति धन्यवाद दिइएको थियो। साथै, द्विपक्षीय हित, आर्थिक सहायता तथा साझेदारीका विषयमा भारतीय सरकारी अधिकारीसहित विभिन्न पक्षसँग छलफल भएको थियो।

यसैबीच, भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको र भारतीय झण्डा मात्रै देखिएको भन्दै बाहिर आएको चर्चाबारे पनि रास्वपाले स्पष्टीकरण दिएको छ।

प्रवक्ता खरेलले औपचारिक द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरको छलफलमा नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको बताए। भारतीय वृत्तमन्त्रीको कार्यकक्षमा भएको अनौपचारिक भेटको तस्बिरमा मात्रै भारतीय झण्डा देखिएको उनको भनाइ छ।

उनले झण्डाको विषयलाई प्राविधिक विषय भन्दै भ्रमणबाट हासिल भएको आर्थिक तथा कूटनीतिक उपलब्धिलाई मुख्य रूपमा हेर्नुपर्ने बताए। रास्वपाले अर्थमन्त्री वाग्लेको भारत भ्रमण देशको हित र अर्थतन्त्रलाई चलायमान बनाउने दृष्टिले सकारात्मक रहेको दाबी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend