जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई थप तीव्रता दिन माग गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले बेपत्ताको खोजी तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने काममा कुनै किसिमको कमी हुन नदिन सरकारलाई आग्रह गरेको हो।
बैठकपछि प्रवक्ता जगदीश खरेलले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको काम भइरहेको तथा अब पुनर्स्थापना र पुनर्निर्माणको काम सुरु गर्नुपर्ने अवस्था आएको बताए।
बेपत्ता व्यक्तिको शव पहिचान हुन नसकेको अवस्थामा डिएनए परीक्षणलाई छिटो अघि बढाउन तथा पीडित परिवारलाई राहतको अनुभूति हुने गरी सेवा प्रभावकारी बनाउन रास्वपाले माग गरेको छ।
पार्टीले लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको मृत्यु भएको वा नभएको कानुनी रूपमा छिनोफानो गर्नुपर्ने बताएको छ। कानुनी अड्चन भए आवश्यक कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउन तथा परिवारको सहमतिमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाका काममा सरकारले सहजीकरण गर्नुपर्ने रास्वपाको भनाइ छ।
बैठकमा मधेस प्रदेशको अधिवेशनसँग सम्बन्धित आन्तरिक समस्याबारे पनि छलफल भएको थियो। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को साता बुझाउने जानकारी प्रवक्ता खरेलले दिए।
त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबाट प्राप्त उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको थियो।
बाढीपछि स्थगित भएका पार्टीका सबै औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरण सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend