logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

आगजनीबाट क्षतिग्रस्त भाटभटेनीको टंगाल स्टोर पुनः सञ्चालनमा


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आएको छ।



सोमबार बिहानदेखि स्टोर सञ्चालनमा आएको हो। औपचारिक रूपमा भने बिहान १० बजेदेखि ग्राहकका लागि खुला गरिएको कम्पनीले जनाएको छ। स्टोर पुनः सञ्चालनको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पनि टंगाल पुगेका थिए।

आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेपछि स्टोरमा ठूलो भौतिक क्षति भएको थियो। पुनर्निर्माण सम्पन्न भएपछि स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको हो।

कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको र ती स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले कठिन परिस्थितिका बीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,’ गुरुङले भनेका छन्, ‘हामी एउटा निष्कर्षमा पुग्यौँ– खरानीबाट फेरि उठ्नेछौँ।’

आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। कठिन अवस्थामा समेत कर्मचारीलाई सेवाबाट अलग नगरेको र गत वर्षको दसैँ बोनससमेत कटौती नगरी रोजगारीलाई निरन्तरता दिएको गुरुङले बताएका छन्।

पुनर्निर्माणका क्रममा चौबीसै घण्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि कम्पनीले धन्यवाद व्यक्त गरेको छ।

टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्‍याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend