logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

बेपत्ता परिवारलाई राहत र सेवा सुविधा दिन प्रक्रिया सहज बनाउन सरकारसँग धितालको माग


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत, सामाजिक सुरक्षा तथा अन्य सरकारी सेवा–सुविधा उपलब्ध गराउन तत्काल न्यायिक र प्रशासनिक प्रक्रिया सहज बनाउन सरकारसँग माग गरेकी छन्।



प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले बाढीबाट ठूलो मानवीय क्षति भए पनि अझै ठूलो संख्यामा नागरिक बेपत्ता रहेको भन्दै उनीहरूका परिवार दोहोरो मारमा परेको बताइन्।

उनका अनुसार हालसम्म १ हजार ४ सय ५१ जनाको मृत्यु पुष्टि भएको छ भने ५ हजार ७ सय ८६ जनाको अवस्था अझै अज्ञात छ। लामो समयसम्म आफन्तको अवस्थाबारे जानकारी नहुँदा परिवारहरू आशा र निराशाबीच बस्न बाध्य भएको उनले बताइन्।

केही परिवारले बेपत्ता आफन्त फेला पर्ने आशा त्याग्दै कुशको आकृति बनाएर अन्तिम संस्कारको विधिसमेत पूरा गरिसकेको उनले उल्लेख गरिन्।

धितालले बेपत्ता नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा उपलब्ध गराउने विषयमा तत्काल आवश्यक कानुनी र प्रशासनिक बाटो खुला गर्नुपर्ने बताइन्।

उनले भनिन्, “नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा–सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारसँग हुनुहुँदैन।”

यसअघि पनि धितालले बाढीपीडितका लागि राहत तथा आवासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend