logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

मिडियामा गएर अध्यक्ष फेर्नुपर्छ भन्ने अधिकार कसले दियो? : ओली


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्ने नेताहरूप्रति आपत्ति जनाएका छन्।



सोमबार एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असन्तुष्टि र नेतृत्व परिवर्तनको विषय सार्वजनिक रूपमा उठाउने नेताहरूलाई प्रश्न गरेका हुन्।

ओलीले पार्टीभित्रको बहस कमिटीमै गर्नुपर्ने भन्दै मिडियामा गएर ‘अध्यक्ष हटाउनुपर्छ’ वा ‘अध्यक्ष असान्दर्भिक भयो’ भन्ने अभिव्यक्ति दिने अधिकार कसलाई छ भनेर प्रश्न गरे।

उनले भने, पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। बाहिर गएर पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने छुट कसैलाई छैन।”

सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध अशोभनीय टिप्पणी गर्ने प्रवृत्तिप्रति पनि ओलीले असन्तुष्टि जनाए। यस्ता गतिविधिले पार्टीभित्रको अनुशासन कमजोर बनाउने भन्दै उनले एमालेमा अनुशासन कायम राख्नुपर्नेमा जोड दिए।

महाधिवेशनले लोकतान्त्रिक विधिबाट नीति, विधान र नेतृत्व चयन गरिसकेको उल्लेख गर्दै ओलीले पार्टीभित्र अराजक गतिविधि गर्न कसैलाई छुट नभएको बताए। उनले विचार र संगठन दुवै हिसाबले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

बाहिरी राजनीतिक परिस्थितिबारे बोल्दै ओलीले एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गरे। आफू र पार्टीका नेतामाथि विभिन्न कारबाही तथा पक्राउका प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै उनले यस्तो परिस्थितिमा पार्टीभित्रैबाट अनुशासनहीन गतिविधि देखिनु दुःखद भएको बताए।

जनतामा पार्टीविरुद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै ओलीले ती भ्रम चिर्दै जनस्तरमा पुगेर पार्टीको धारणा स्पष्ट पार्न कार्यकर्तालाई निर्देशन दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend