logo सोमबार, असोज ५ २०८३ | Monday 21st September 2026

राजदूत नियुक्तिको मापदण्ड सरकारले नै मिच्यो : ज्ञानेन्द्र शाही


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको आरोप लगाएका छन्।



प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पढेर सुनाउँदै प्रस्तावित राजदूतहरूको पृष्ठभूमि उक्त मापदण्डसँग मेल नखाने दाबी गरे।

उनका अनुसार मापदण्डमा अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्ति राजदूतका लागि सिफारिस हुन नहुने तथा विदेशी राज्यद्वारा तलबसहितको पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ।

शाहीले अमेरिकाका लागि प्रस्तावित चिरञ्जीव थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेको, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मा कार्यरत रहेको तथा जर्मनीका लागि प्रस्तावित शारू जोशीले यूएन वुमनलगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको उल्लेख गरे।

त्यस्तै, ओमानका लागि प्रस्तावित पद्माक्षी राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा केन्द्रित रहेको र दक्षिण कोरियाका लागि प्रस्तावित प्रा. डा. संगम श्रेष्ठले एसिया इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा विकास संस्थासँग काम गरेको शाहीले बताए।

‘सरकारले आफैँ मापदण्ड बनाएर आफैँ लागू गर्न किन सकेको छैन?’ शाहीले प्रश्न गरे।

सरकारले आफ्नै मापदण्ड कार्यान्वयन नगर्नुका पछाडि ‘विदेशी दबाब वा अर्बौँको चलखेल’ भएको हुनसक्ने आशंकासमेत शाहीले व्यक्त गरे।

उनले मापदण्डविपरीत राजदूत नियुक्तिका लागि गरिएको सिफारिसबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने मागसमेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend