जन आकाश
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन्।
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या, लालपुर्जा वितरण प्रक्रिया र उनीहरूका गुनासा सुन्न चितवन पुगेकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै यस्तो बताएकी हुन्।
विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गर्दै उनले लालपुर्जा र राजनीतिलाई सँगै जोड्न नहुने बताइन्। “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन। तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो,” उनले भनिन्।
मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया तीव्र बनाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।
“अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो। स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ,” उनले भनिन्।
लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि समस्या भोग्नुपरेको बताउँदै मन्त्री रावलले उनीहरूलाई सकेसम्म छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
छलफलका क्रममा स्थानीयवासीले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए। सरकारले समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए।
मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको जानकारी दिइन्। स्थानीयका समस्या सुनेर सम्बन्धित सरोकारवालासँग छलफल गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend