जन आकाश
काठमाडौं । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावका कारण कर्णालीसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुन सक्ने भन्दै मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतले सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म मौसम प्रतिकूल रहन सक्नेछ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिममा बाढी, पहिरो तथा लेदो बहावको जोखिम रहेको छ।
हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको सम्भावनासमेत रहेकाले अनावश्यक यात्रा नगर्न कार्यालयले अनुरोध गरेको छ। मौसम प्रतिकूल हुने समयमा नदी तथा खोलानजिकका बस्तीमा बसोबास गर्ने र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्भावित वर्षाले धानबालीमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर मात्र धान काट्ने तथा भित्र्याउने काम गर्न सुझाव दिइएको छ। काटिसकेको धानलाई सुरक्षित स्थानमा राख्नसमेत कार्यालयले आग्रह गरेको छ।
कार्यालयले मौसमको पछिल्लो अवस्थाबारे आधिकारिक सूचना नियमित रूपमा लिन र सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend