logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

बालेन–रवि चार घण्टा छलफलमा, खगेन्द्र सुनारदेखि कर्मचारी विधेयकसम्मका विषयमा कुराकानी


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच चार घण्टा लामो भेटवार्ता भएको छ।



उच्च स्रोतका अनुसार बुधबार हात्तिगौंडास्थित लामिछानेको निवासमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही, पार्टीका आन्तरिक विषय तथा विभिन्न विवादबारे छलफल भएको हो।

भारतमा तीर्थाटन गरेर नेपाल फर्किएका लामिछानेलाई भेट्न प्रधानमन्त्री बालेन उनको निवास पुगेका थिए। भेटका क्रममा लामिछानेको भारत भ्रमणसँगै सांसद खगेन्द्र सुनारमाथि लागेको आरोप, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसम्बन्धी विषय र निजामती कर्मचारीसम्बन्धी विधेयक अध्यादेशमार्फत ल्याउने सरकारी तयारीबारे छलफल भएको स्रोतले जनाएको छ।

पछिल्लो समय सांसद खगेन्द्र सुनारमाथि एक महिलालाई फोनमार्फत दुर्व्यवहार गरेको आरोप लागेपछि रास्वपाले आन्तरिक रूपमा छानबिन गरिरहेको छ। यस विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ।

त्यस्तै, निर्वाचनका क्रममा पोसाक खरिद गर्दा भ्रष्टाचार भएको भन्दै सांसद सुनारले प्रश्न उठाउँदै आएका छन्। उक्त विषयमा संसदीय समितिले समेत छानबिन गरिरहेको छ।

भेटमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। विभिन्न सञ्चारमाध्यममा उनलाई पदबाट हटाउने तयारी भइरहेको चर्चा भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

यसैगरी, सरकारले निजामती कर्मचारीसम्बन्धी नयाँ कानुन ल्याउने तयारीबारे पनि छलफल भएको बताइएको छ। संघीय संसद् सचिवालयमा दर्ता भइसकेको विधेयक सरकारले फिर्ता लिएर अध्यादेशमार्फत कानुन ल्याउन खोजेपछि कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने तयारीबारे समेत चर्चा भइरहेको छ।

यी विषयबाहेक मन्त्रिपरिषद्का कामकारबाही, पार्टीका आन्तरिक विषय तथा सांसदहरूसँग सम्बन्धित विभिन्न मुद्दामा पनि दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, भेटवार्ताका विषयमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने दुवै पक्षबाट आधिकारिक विवरण सार्वजनिक भएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend