logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

न्यायाधीशहरू होटल पुगेको घटनाबारे अनुसन्धान, हिमालय होटलको सीसीटीभी फुटेज माग


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । विचौलिया इनम सापकोटालाई सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले भेटेको खबर सार्वजनिक भएपछि हिमालय होटलको सीसीटीभी फुटेज खोजी गर्न थालिएको छ।



जिल्ला सरकारी वकिल कार्यालयले घटनासँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा प्रहरीसँग होटलको सीसीटीभी फुटेज माग गरेको हो। तर, माग गरिएको फुटेज प्रहरीले अझै उपलब्ध नगराएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै स्रोतले जनाएको छ।

स्रोतका अनुसार उक्त दिन न्यायाधीश फुयालसहित सात जना न्यायाधीश हिमालय होटल पुगेका थिए। न्यायाधीशहरू सामूहिक रूपमा होटल पुगेर विचौलिया सापकोटासँग भेटेको विषय सार्वजनिक भएपछि सरकारी वकिल कार्यालयले घटनाबारे थप प्रमाण जुटाउन थालेको हो।

होटलको सीसीटीभी फुटेजबाट उक्त दिन होटल पुगेका न्यायाधीशहरूको पहिचान गर्नुका साथै उनीहरू कति समयसम्म होटलमा बसे र सापकोटासँगको भेटघाट कति समय भयो भन्ने विषय खुल्न सक्ने अपेक्षा गरिएको छ।

न्यायाधीश फुयालले आफूसँगै अन्य न्यायाधीशहरू पनि सापकोटालाई भेट्न गएको खुलाएपछि उनीहरू को–को थिए भन्ने विवरण पत्ता लगाउन फुटेज खोजी गरिएको स्रोतको भनाइ छ।

घटनाले न्यायालयको निष्पक्षता, पारदर्शिता र न्यायिक आचरणमाथि प्रश्न उठाएको छ। अब होटलको सीसीटीभी फुटेज सार्वजनिक वा अनुसन्धान निकायलाई उपलब्ध भएपछि घटनाबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend