जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमणको निम्तो हस्तान्तरण गर्न र भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते काठमाडौं आउने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने तयारी छ। प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा भने भारतीय विदेश सचिव मिस्री नेपालबाट फर्किएपछि गरिनेछ।
काठमाडौंमा हुने उच्चस्तरीय तयारी बैठकपछि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भ्रमणको मिति घोषणा गर्ने तयारी रहेको परराष्ट्र स्रोतले जनाएको छ।
नेपाल भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्। यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले असोज १ देखि ३ गतेसम्म भारत भ्रमण गर्दा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे भारतीय पक्षसँग छलफल गरेका थिए।
यस्तै, नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला पनि कात्तिक १७ गते काठमाडौं आइपुग्ने भएका छन्। नेपाल र भुटान मामिलाका जानकार तथा अनुभवी कूटनीतिज्ञ दलेलालाई भारतले असोज २३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
भारतीय विदेश सचिव र नवनियुक्त राजदूतको नेपाल आगमनसँगै प्रधानमन्त्री शाहको भारत भ्रमणको कूटनीतिक तथा प्रशासनिक तयारी थप तीव्र हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend