जन आकाश
काठमाडौं । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।
पराजुलीका अनुसार विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। उद्घाटनको मिति भने तय भइसकेको छैन। प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी रहेको छ।
रामायण सर्किटअन्तर्गत जनकपुरधाम र अयोध्यालाई रेल सेवामार्फत जोड्न आवश्यक पूर्वतयारी भइरहेको पराजुलीले बताए। नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेल सेवामार्फत जोडिँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए।
विशेष रेल सेवाले धार्मिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend