जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारीअनुसार काम गरेर परिणाम देखाउन आग्रह गरेका छन्।
सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र काम गरेको देखाउनकै लागि दौडधुप गर्ने प्रवृत्तिभन्दा संस्थागत योजना, जिम्मेवारीको स्पष्ट बाँडफाँट र कामको प्रतिफललाई प्राथमिकता दिनुपर्ने बताए।
पार्टीको जिम्मेवारी सम्हाल्नु भनेको प्रमाणपत्र र माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्नु मात्र नभएको उनको भनाइ थियो।
उनले कांग्रेसको ऐतिहासिक विरासत जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प नयाँ नेतृत्वले गर्नुपर्ने बताए।
पछिल्लो महाधिवेशनले सहिद परिवार, प्रजातन्त्र सेनानी, पेसा–व्यवसायमा संलग्न व्यक्ति तथा युवाहरूको प्रतिनिधित्वलाई नेतृत्वमा समेटेको उल्लेख गर्दै उनले ३५ वर्षमुनिका युवाहरू विभिन्न तहमा निर्वाचित भएर आएको बताए।
शर्माले निर्वाचित भएका र हुन नसकेका सबैलाई एउटै टिमका सदस्यका रूपमा अघि बढ्न पनि आग्रह गरे। पार्टी सभापतिले तयार गर्ने कार्ययोजना र सङ्गठनले निर्धारण गरेका जिम्मेवारीअनुसार काम गर्न तथा त्यसको उपलब्धि समयमै प्रतिवेदनका रूपमा बुझाउनुपर्ने उनको भनाइ थियो।
उनले सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम नभई समाज रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा समेत जोड दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend