जन आकाश
काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको ११औँ संस्करणका लागि चार विधामा ५० वटा स्टार्टअप तथा नवप्रवर्तन छनोट भएका छन्।
२०८३ साउनदेखि सुरु भएको मनोनयन प्रक्रियामा १६ विधाका लागि ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका थिए। यसैक्रममा स्टार्टअप तथा नवप्रवर्तनतर्फका चार विधामा प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रिया पूरा गरी ५० वटा उत्कृष्ट प्रतिस्पर्धी सार्वजनिक गरिएको हो।
१४ जना विज्ञ निर्णायक र १५ सदस्यीय विशिष्ट सल्लाहकार समितिको सहभागितामा गरिएको छनोटअनुसार स्टार्टअप विधामा १०, सामाजिक नवप्रवर्तन विधामा १०, उत्पादन विधामा १५ र उदाउँदो नवप्रवर्तन विधामा १५ वटा छनोट भएका छन्।
छनोट भएका उत्कृष्ट १० स्टार्टअपमा आशिर्वाद केयर प्रालि, एक्सेलेरेटेड कम्प्युटिङ प्रालि, फ्युलिङ एम्बिसन्स प्रालि, गरुडएक्स मल्टिपर्पस प्रालि, गोमाइगो बुकिङ्स प्रालि, लुमिनो टेक्नोलोजी प्रालि, रेफेरो सोलुसन्स प्रालि, समएक्स इन्क प्रालि, योद्धा ल्याब प्रालि र जेलियन्ट कम्पनी प्रालि रहेका छन्।
त्यस्तै, सामाजिक नवप्रवर्तन विधामा बारबर्दिया कृषि मौसमसम्बन्धी सन्देश तथा परामर्श प्रणाली, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली विद्यालयको सिर्जनात्मक प्रयोगशाला, निदान विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली, रिजेन नेपाल, राइड टु अर्न, सेतु, स्तरीय सार्वजनिक शौचालय तथा सरसफाइ व्यवस्थापन, वायुदृष्टि–वायुसेना र फोहोर व्यवस्थापन प्रणाली छनोट भएका छन्।
यसैगरी, उत्कृष्ट १५ उत्पादनमा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स केन्द्रीय निगरानी प्रणाली, दन्त–मेड, एक्साना, आईएमएस डिजिटल ऋण सेवा, आईपी सेवा, काठमाडौं दृश्यावलोकन, लेख्नुस्, नेपाल मानव संसाधन व्यवस्थापन, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स कागजात व्यवस्थापन प्रणाली, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस रहेका छन्।
त्यसैगरी, उदाउँदो नवप्रवर्तन विधामा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर–साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप छनोट भएका छन्।
उत्कृष्ट पाँचका लागि नवप्रवर्तन महोत्सव र निर्णायक प्रस्तुति
छनोट भएका ५० वटै समूह अब स्टार्टअप तथा विचार महोत्सव र अन्तिम निर्णायक सत्रमा सहभागी हुनेछन्। आगामी मङ्सिरको पहिलो साता आयोजना हुने महोत्सवमा सबै समूहले आफ्ना प्रविधि, उत्पादन तथा नवप्रवर्तन प्रदर्शन गर्नेछन्।
अन्तिम निर्णायक सत्रमा सहभागीहरूले निर्णायक समितिसमक्ष प्रस्तुति दिनुका साथै प्रत्यक्ष छलफलमा सहभागी हुने अवसर पाउनेछन्। यी सबै प्रक्रिया पूरा भएपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच छनोट गरिनेछ।
उत्कृष्ट पाँचमा परेका समूहहरू अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। सर्वोत्कृष्ट समूह तथा नवप्रवर्तन पहिचान गर्न स्थलगत निरीक्षण र सार्वजनिक मतदानसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
यसैबीच, व्यक्तिगत सम्मानतर्फ अग्रणी आईसीटी सम्मान, उद्यमी आईसीटी सम्मान, नेपाली प्रवासी आईसीटी सम्मान, व्यावसायिक उत्कृष्टता आईसीटी सम्मान र महिला व्यावसायिक उत्कृष्टता आईसीटी सम्मान रहेका छन्।
संस्थागत सम्मानतर्फ सार्वजनिक क्षेत्र डिजिटल शिक्षा आईसीटी सम्मान, निजी क्षेत्र डिजिटल शिक्षा आईसीटी सम्मान, डिजिटल सुशासन आईसीटी सम्मान, उदाउँदो क्षेत्र डिजिटल सेवा आईसीटी सम्मान र संस्थागत क्षेत्र डिजिटल सेवा आईसीटी सम्मान रहेका छन्। यी विधाको छनोट प्रक्रिया पनि जारी रहेको आयोजकले जनाएको छ।
दक्षिण एसियाली मुलुकलाई लक्षित गर्दै दक्षिण एसिया स्टार्टअप सम्मान २०२६ र दक्षिण एसिया कृत्रिम बौद्धिकता नवप्रवर्तन आईसीटी सम्मान २०२६ समेत सञ्चालन भइरहेका छन्। नेपालका १४ जना विज्ञसहित विभिन्न देशका अन्तर्राष्ट्रिय निर्णायक सदस्यहरू छनोट प्रक्रियामा सहभागी छन्। यसका साथै १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति पनि गठन गरिएको छ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा सञ्चालन हुने आईसीटी अवार्डमा विभिन्न संस्थाको सहकार्य रहनेछ। सन् २०१६ देखि सुरु भएको यो अवार्ड हरेक वर्ष थप परिष्कृत र विस्तारित स्वरूपमा आयोजना हुँदै आएको छ।
आयोजकका अनुसार अवार्डको छनोट प्रक्रियाअन्तर्गत २५ चरणमा निर्णायक समितिका बैठक तथा प्रस्तुति सत्र सञ्चालन हुनेछन्। आयोजकले छनोट प्रक्रियालाई नेपालमा आयोजना हुने अवार्डहरूमध्ये बृहत्, निष्पक्ष र पारदर्शी रहेको दाबी गरेको छ। थप जानकारीका लागि आईसीटी अवार्डको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend