logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

६३ महिनामा पनि ४७ प्रतिशत मात्रै काम, मेची करिडोरको सडक ठेक्का अन्त्य


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पूर्वाधार विकासमन्त्री इन्जिनियर सुनिल लम्सालले पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि ठेक्का सम्झौता तोडिएको जानकारी दिएका हुन्।



इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने केचना–कञ्चनजङ्घा सडकअन्तर्गतको ९ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि २०७८ असार २९ गते भ्याटसहित २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दै ६३ महिनाको समय उपलब्ध गराउँदासमेत आयोजनाको भौतिक प्रगति करिब ४७ प्रतिशत र वित्तीय प्रगति ४५ दशमलव २८ प्रतिशतमा मात्रै सीमित रह्यो।

निर्माण कार्य लामो समयसम्म अलपत्र परेपछि सरकारले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो। मन्त्री लम्सालका अनुसार अधुरो सडक निर्माण सम्पन्न गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ।

अलपत्र आयोजनामा पटक–पटक म्याद थपेर समय बिताउनेभन्दा निर्माण व्यवसायीको जिम्मेवारी सुनिश्चित गरी आयोजना सम्पन्न गराउने नीति सरकारले लिएको उनको भनाइ छ।

मेची करिडोरअन्तर्गतको यो सडक निर्माण सम्पन्न भए इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई आवतजावत तथा पर्यटन प्रवर्द्धनमा सहज हुने अपेक्षा गरिएको छ। अब नयाँ ठेक्का प्रक्रिया कति छिटो अघि बढ्छ र वर्षौँदेखि प्रतीक्षामा रहेका स्थानीयले कहिले सडक सुविधा पाउँछन् भन्ने चासो बढेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend