जन आकाश
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
राष्ट्रिय जलवायु शिखर सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली गम्भीर जोखिममा परेको उल्लेख गरे। यसको प्रत्यक्ष असर जलस्रोत, खाद्य सुरक्षा, ऊर्जा तथा नागरिकको जनजीविकामा परिरहेको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसबाट हुने क्षति र जोखिम भने असमान रूपमा बढिरहेको बताए। जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई सहज र समयमै आर्थिक सहायता उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए।
मन्त्री खनालका अनुसार जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्न नेपाललाई अस्थायी रूपमा २ करोड १६ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय भएको छ। कोप–३१ मा नेपालले पर्वतीय क्षेत्रका जोखिमलाई विश्वव्यापी जलवायु नीतिमा समेट्न, जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्न तथा जलवायुजन्य क्षति र नोक्सानीको उचित सम्बोधनका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष पहल गर्नेछ।
यसैबीच, सम्मेलनमा परराष्ट्रमन्त्री खनाल र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले संयुक्त रूपमा ‘पर्वतीय रणनीति’ लगायत जलवायुसम्बन्धी विभिन्न दस्तावेज सार्वजनिक गरेका छन्।
नेपालले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र प्रभावित समुदायको अधिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend