जन आकाश
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बसेको ८१औँ महासभाको बैठकले प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बङ्गलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले उक्त निर्णयबारे जानकारी दिएको छ।
यस निर्णयसँगै नेपालले अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय पाएको छ।
नेपालले प्राप्त अतिरिक्त समयलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ।
त्यसैगरी, स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति, दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिने नेपालले जनाएको छ।
थपिएको समयले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट सहज, दिगो र पुनः पछाडि फर्कनु नपर्ने गरी स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यस निर्णयका लागि नेपालले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रप्रति निरन्तर सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend