logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

भोटेकोसी बाढी : सुरुङभित्र ३७ जनाको शव फेला


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ जनाको शव फेला परेको छ। नेपाली सेनाका अनुसार सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहे पनि उद्धार टोलीले ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको थियो।



शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उद्धारको अवस्थाबारे जानकारी गराएका हुन्।

उनका अनुसार बाढीले जलविद्युत् आयोजनाको सुरुङ, पावरहाउस, ड्याम साइट तथा कामदार क्याम्पमा ठूलो क्षति पुर्‍याएको थियो। आयोजनामा नेपाली, भारतीय र चिनियाँसहित विभिन्न देशका कामदार कार्यरत थिए।

९ दशमलव ७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि इन्जिनियरहरूसँग समन्वय गरेर उद्धारको योजना बनाइएको थियो। प्रारम्भिक निरीक्षणका क्रममा सुरुङभित्र प्रवेश गर्न सकिने दुईवटा सम्भावित स्थान मात्रै फेला परेका थिए। अन्य प्रवेश मार्ग अवरुद्ध थिए।

नेपाली सेना, चिनियाँ र कोरियन उद्धार टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।

तर सुरुङभित्रको अवस्था भने निकै भयावह थियो। अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीका कारण उद्धार टोलीलाई अघि बढ्न कठिन भएको थियो। कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो।

उद्धार अभियानको ११औँ दिन सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्क क्षेत्रमा काम गरिरहेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको सहायक रथी थापाले जानकारी दिए।

त्यस्तै, अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी अडिट–३ बाट सुरुङभित्र करिब एक हजार सात सय मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। उक्त क्षेत्रमा सुरुङ पूर्ण रूपमा अवरुद्ध रहेको पाइएको थियो।

खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए। सोही क्षेत्रमा ३७ जनाको शव फेला परेको सेनाले जनाएको छ।

सेनाका अनुसार सुरुङभित्र प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको छ। सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङभित्र १७ फिटसम्म पानी र लेदो जमेको अवस्था छ।

अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि सेनाले जनाएको छ।

हाल पनि खोज तथा उद्धार कार्य जारी छ। सुरुङभित्रको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाका ४२ जना जनशक्ति उद्धार कार्यमा परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिएका छन्।

भोटेकोसी बाढीले निम्त्याएको यो विपद्ले जलविद्युत् आयोजना मात्र होइन, त्यहाँ काम गर्ने श्रमिकहरूको जीवनसमेत कति जोखिममा परेको थियो भन्ने देखाएको छ। अझै सुरुङभित्र पुग्न नसकिएको क्षेत्र रहेकाले उद्धार अभियानको थप चुनौती कायमै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend