जन आकाश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’ र ब्राजिलियन जनताका लागि ‘अपमानजनक’ भन्दै टिप्पणी गरेका छन्।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्राजिलको चुनावमा आफूले कुनै पक्ष नलिएको तर त्यहाँ देखिएका घटनाक्रम शब्दमा वर्णन गर्न कठिन रहेको बताएका हुन्।
ब्राजिलमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्कर्स पार्टीका नेता लुइज इनासियो लुला दा सिल्भाले पुनरागमन गर्दै चौथो कार्यकालका लागि जित हासिल गरेका छन्।
८० वर्षीय लुलाले अति दक्षिणपन्थी लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतगणनाअनुसार लुलाले ५१ दशमलव ७६ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८ दशमलव २४ प्रतिशत मत पाएका छन्।
पहिलो चरणको मतदानमा बोल्सोनारोले करिब दुई प्रतिशत अंकको अग्रता लिएका थिए। विभिन्न चुनावी सर्वेक्षणले पनि बोल्सोनारोलाई केही अगाडि देखाएका थिए। तर दोस्रो चरणको नतिजाले ती अनुमानलाई गलत साबित गरिदिएको छ।
बोल्सोनारो जेलमा रहेका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन्। निर्वाचनमा पराजित भएपछि उनी परिवारसहित अमेरिका पुगेको समाचारमा उल्लेख छ।
लुलाको जितसँगै ब्राजिलको राजनीतिमा नयाँ बहस सुरु भएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीले निर्वाचनको विषयलाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend