जन आकाश
काठमाडौं । कोशीदेखि गण्डकी प्रदेशसम्म शुक्रबार बिहानैदेखि भइरहेको वर्षा अहिले पश्चिमतर्फ विस्तार भएको छ। गण्डकी प्रदेशबाट सुदूरपश्चिमसम्मका विभिन्न स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
कोशीदेखि गण्डकी प्रदेशसम्म बिहीबारदेखि नै बदली भएको मौसममा गएरातिदेखि सिमसिमे वर्षा सुरु भएको थियो। पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा भारी वर्षासमेत मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार धनकुटाको लेगुवाघाटमा ५२.८ मिलिमिटर र खोटाङको कुर्लेघाटमा ४८.२ मिलिमिटर वर्षा मापन भएको छ। कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा २० देखि ५० मिलिमिटरसम्म वर्षा भएको विभागले जनाएको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले नेपालको पूर्वदेखि पश्चिमसम्म वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। चक्रवात कमजोर हुँदै भारतको उत्तर प्रदेश आसपास न्यूनचापीय क्षेत्रका रूपमा रहेको र त्यसको प्रभाव नेपालमा परेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार उक्त प्रणाली नेपालतर्फ नजिकिँदै गर्दा शुक्रबार साँझदेखि वर्षा थप बढ्न सक्नेछ। विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली भूभागमा बढी वर्षाको सम्भावना रहेको छ। यद्यपि देशभर लगातार भारी वर्षा नभई अधिकांश स्थानमा झरी पर्ने र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले चक्रवात ‘अर्नब’ अझै नेपालबाट टाढै रहेको र साँझतिर नेपाल नजिक आइपुग्ने बताएका छन्।
उनका अनुसार यसको प्रभावले करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाको समय, स्थान र मात्रा परिवर्तन हुन सक्ने भएकाले साँझ तथा रातिको समयमा विशेष सतर्कता अपनाउन र आधिकारिक मौसम सूचना तथा अपडेटमा ध्यान दिन उनले आग्रह गरेका छन्।
मौसम विभागका अनुसार शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानालाको बहाव, पहिरो जोखिम र सडक यात्रामा सावधानी अपनाउन आवश्यक देखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend