जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन आज निर्वाचन आयोग जाने भएको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको थियो।
कार्यवाहक मुख्यसचिव दुलालले आज निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जान लागेको जानकारी दिएका छन्।
उनका अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको फोटोसहितको विवरण र आवश्यक कागजात आयोगमा बुझाइनेछ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्य गरी कुल २३१ जना निर्वाचित भएका छन्।
कांग्रेसमा अझै चार सहमहामन्त्री, एक कोषाध्यक्ष, प्रवक्ता तथा आवश्यक परे सहप्रवक्ता र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशनपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने भएकाले कांग्रेसले प्रक्रिया अघि बढाएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend